
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङस्थित प्रहरी चेकपोस्टबाट ६ किलो ४० ग्राम लागूऔषध चरेशजस्तो पदार्थसहित दुई जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पालुङका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोविन्द भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको हो।

हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च ४५६१ नम्बरको सेतो रङको ओमोडा जेइकु ६टी एसयूभी गाडीलाई रोकेर जाँच गर्दा पछाडिको डिक्कीमा रहेको कालो लगेजभित्र लुकाइएको अवस्थामा पाँच पोका चरेशजस्तो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
लत्ताकपडाले छोपेर सेतो प्लास्टिकमा प्याक गरी लुकाइएको उक्त पदार्थ प्लास्टिकसहित ६ किलो १४० ग्राम र प्लास्टिक हटाउँदा ६ किलो ४० ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले गाडी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ स्थायी घर भई हाल बनेपा नगरपालिका–८ बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ स्थायी घर भई हाल भरतपुर–२, क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्लेलाई पक्राउ गरेको छ।
बरामद लागूऔषध र गाडीसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





