काठमाडौं । चाडपर्वको समयमा जुवातास खेल्ने गतिविधि नियन्त्रण गर्न प्रहरीले देशभर निगरानी र कारबाही अभियान तीव्र पारेको छ। यसक्रममा सुर्खेत, ललितपुर, काभ्रे, धनुषा र सर्लाहीका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट लाखौँ रुपैयाँ नगद, तास तथा कौडा बरामद गरिएको छ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मुलपानीचोकस्थित सुशिल भारतीको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी भारतीसहित १२ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ४ लाख १ हजार ४८५ रुपैयाँ बरामद भएको छ।

त्यस्तै, वीरेन्द्रनगर नगरपालिका–१० बुलबुले चोकबाट १० जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १ लाख ८१ हजार १०० रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। वीरेन्द्रनगर–३ गण्डकी लाइनबाट जुवातास खेलिरहेका ८ जना पक्राउ पर्दा ३ लाख ७७ हजार ८५० रुपैयाँ बरामद भएको छ।

यसैगरी, वीरेन्द्रनगर–६ खोर्केलाइनबाट ११ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १ लाख २७ हजार ८५ रुपैयाँ र १३ बुक तास बरामद गरिएको छ।

ललितपुरको गोदावरी नगरपालिका–१३ झरुवाराशीस्थित रामसिंह खड्काको घरमा जुवातास खेलिरहेको अवस्थामा घरधनी खड्कासहित ९ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १ लाख ५८ हजार ७१५ रुपैयाँ र चार बुक तास बरामद भएको छ। गोदावरी नगरपालिका–१० प्याङगाउँबाट थप दुई जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ४० हजार ३०५ रुपैयाँ र एक बुक तास बरामद गरिएको छ।

काभ्रेको पाँचखाल नगरपालिका–७ शिखरपुर श्रीरामपाटीस्थित सार्वजनिक प्रतीक्षालयमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूको साथबाट ६१ हजार ५९० रुपैयाँ, १६ थान कौडा र एक बुक तास बरामद भएको छ।

त्यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित साजन टेन्ट हाउसबाट १८ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट १ लाख ६१ हजार ६४४ रुपैयाँ र तीन बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

सर्लाहीको मलंगवा नगरपालिका–८ बाट जुवातास खेलिरहेका ९ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ६ लाख ७८ हजार ५६० रुपैयाँ र चार बुक तास बरामद भएको छ। यसैगरी, ब्रह्मपुरी गाउँपालिका–१ बाट थप १७ जना पक्राउ पर्दा ३ लाख २० हजार १७५ रुपैयाँ र चार बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले चाडपर्वका बेला जुवातास खेल्ने, खेलाउने तथा यस्ता गतिविधिलाई प्रोत्साहन गर्ने कार्य नियन्त्रण गर्न निगरानी बढाइएको जनाएको छ। पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय