झापा । झापाको बिर्तामोडस्थित टाइमलेस होटलमा तास खेलिरहेको सूचनाका आधारमा प्रहरीले गरेको छापा अहिले प्रहरी संगठनभित्रै विवाद र छानबिनको विषय बनेको छ। प्रहरी निरीक्षक मनिष लुइँटेलको नेतृत्वमा भएको भनिएको उक्त अपरेसनमा नगद बरामद भएको वा नभएको विषयदेखि छापा सञ्चालनको प्रक्रियासम्म प्रश्न उठेपछि जिल्ला प्रहरी कार्यालय झापाले आन्तरिक अनुसन्धान अघि बढाएको हो।

प्रहरीले होटलबाट नगद बरामद नभएको र तास खेलिरहेका कुनै पनि व्यक्तिलाई पक्राउ नगरिएको बताउँदै आएको छ। तर घटनासँग जोडिएका स्रोतहरूले भने होटलबाट लाखौ रकम बरामद भएको, त्यसको हिसाब पारदर्शी नरहेको र आर्थिक लेनदेनका आधारमा व्यक्तिहरूलाई पक्राउ नगरी छाडिएको हुन सक्ने आरोप लगाएका छन्। यही विरोधाभासले घटनालाई थप पेचिलो बनाएको छ।

घटना हो कात्तिक ८ गते राति बिर्तामोडको टाइमलेस होटलमा इलाका प्रहरी कार्यालय अनारमनीको टोली पुगेको थियो। प्रहरी निरीक्षक लुइँटेलको नेतृत्वमा दुई महिला प्रहरी र दुई जना सादा पोसाकका प्रहरी जवानसहितको टोली होटल पुगेको स्रोतको भनाइ छ। टोली राति करिब १२ बजेतिर होटल प्रवेश गरेको र झन्डै साढे तीन घण्टासम्म त्यहाँ बसेको बताइएको छ।

सूचना पाएर पुगेको टोली, तर किन भएन कोहि पक्राउ?

प्रहरीसम्म होटलमा केही व्यवसायी तथा अन्य प्रतिष्ठित व्यक्तिहरू गोप्य रूपमा तास खेलिरहेको सूचना पुगेको बताइएको छ। सोही सूचनाका आधारमा प्रहरी टोली परिचालन भएको स्रोतको दाबी छ।

तर प्रहरी टोली होटल पुग्नुअघि नै छापाबारे सूचना चुहिएको र तास खेलिरहेका भनिएका व्यक्तिहरू तितरबितर भएको चर्चा छ। त्यसपछि प्रहरी टोलीले होटलमा लामो समय बिताए पनि कसैलाई नियन्त्रणमा नलिएको बताइएको छ।

घटनापछि होटलबाट लाखौँ रुपैयाँ बरामद भएको चर्चा सार्वजनिक भयो। तर प्रहरीको आधिकारिक विवरणमा नगद बरामद नभएको उल्लेख छ। यदि रकम बरामद भएको थिएन भने लाखौँ रुपैयाँको चर्चा कसरी सुरु भयो? बरामद भएको थियो भने त्यसको मुचुल्का, अभिलेख तथा जिम्मेवारी कसको थियो? अहिले छानबिनको केन्द्रमा यिनै प्रश्न छन्।

रकमको मोलमोलाइ र २५ हजार रुपैयाँसहित पक्राउको दाबी

यो प्रकरणमा सार्वजनिक भएको अर्को गम्भीर आरोप होटलमा रहेका व्यक्तिहरूसँग रकमका विषयमा मोलमोलाइ भएको भन्ने हो। स्रोतका अनुसार छापा परेको राति होटलमा रहेका व्यक्तिहरूलाई पक्राउ नगरी छाड्न ठूलो रकमको लेनदेन भएको हुन सक्ने आशंका गरिएको छ।

त्यस्तै, होटलमा भएको छापा प्रकरणलाई औपचारिक र प्रभावकारी देखाउन पछि अर्का एक निर्दोष व्यक्तिलाई २५ हजार रुपैयाँसहित पक्राउ गरिएको र भोलिपल्टै छाडिएको दाबीसमेत स्रोतले गरेको छ। साथै, यस घटनामा संलग्न रहेको भनिएका बिर्तामोडका चर्चित कहलिएका एक ठेकेदारसँग समेत छुट्टै रकम असुलिएको चर्चा चलेको छ।

यदि यस्तो घटना भएको हो भने पक्राउको आधार के थियो? बरामद भनिएको रकमको मुचुल्का बनाइएको थियो कि थिएन? पक्राउ परेका व्यक्तिविरुद्ध कुनै मुद्दा वा अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो कि थिएन? यी विषय पनि छानबिनबाट स्पष्ट हुनुपर्ने देखिन्छ।

प्रहरी निरीक्षक लुइँटेलले आफूले कुनै आर्थिक अनियमितता नगरेको र होटलबाट नगद बरामद नभएको दाबी गर्दै आएको छानबिन समितका एक सदस्यले सुरक्षा सरोकारलाई जानकारी दिए । उनीमाथि लागेका आरोपको स्वतन्त्र पुष्टि भइसकेको छैन।

चेन अफ कमान्ड उल्लंघनको प्रश्न

प्रहरी निरीक्षक लुइँटेलमाथि माथिल्लो निकायलाई जानकारी नदिई आफ्नै पहलमा होटलमा छापा मारेको आरोपसमेत लागेको छ। छापा मार्नुअघि इलाका प्रहरी कार्यालय बिर्तामोडको नेतृत्व, जिल्ला प्रहरी कार्यालय वा सम्बन्धित माथिल्लो निकायलाई जानकारी गराइएको थियो कि थिएन भन्ने विषय पनि छानबिनमा समेटिएको छ।

प्रहरी संगठनमा परिचालन, सूचना आदानप्रदान र अपरेसन सञ्चालन गर्दा संगठनात्मक जिम्मेवारी तथा कमान्ड प्रणालीको पालना महत्वपूर्ण मानिन्छ। आवश्यक जानकारी र स्वीकृतिबिना संवेदनशील प्रकृतिको अपरेसन सञ्चालन गरिएको भए त्यसको प्रक्रियागत औचित्य र जिम्मेवारीबारे प्रश्न उठ्न सक्छ।

सीसीटीभी फुटेजसहित छानबिन

घटनाको वास्तविकता पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय झापाले इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिकुमार बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मुन्ना कुमार अधिकारीका अनुसार समितिले चेन अफ कमान्ड उल्लंघन, आर्थिक अनियमितताको आरोप तथा छापा सञ्चालनको प्रक्रियागत पक्षमा अनुसन्धान गरिरहेको छ। समितिको प्रतिवेदन प्राप्त भएपछि थप विवरण सार्वजनिक गर्न सकिने उनको भनाइ छ।

समितिले टाइमलेस होटलको सीसीटीभी क्यामेराको रेकर्डिङ उपकरणसमेत ल्याएर दृश्य अध्ययन गरिरहेको बताइएको छ। घटनासँग सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ भइरहेको र तास खेलिरहेको भनिएका व्यक्तिहरूसँग पनि अनुसन्धानका क्रममा जानकारी लिइरहेको समितिका संयोजक डीएसपी बस्नेतले बताएका छन्। उनले प्रतिवेदन चाँडै बुझाउने तयारी रहेकोसमेत बताएका छन्।

छापामा सहभागी सादा पोसाकका प्रहरी जवान मनिष धिमाल र काचुन भोटेको जिम्मेवारी परिवर्तन गरी नियमित ड्युटीमा खटाइएको स्रोतको दाबी छ। उक्त टोलीमा महिला प्रहरी जवान पुष्पा राई र भावना श्रेष्ठसमेत सहभागी रहेको बताइएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष पाठकले पनि घटनाबारे आन्तरिक छानबिन भइरहेको जानकारी दिएका छन्। जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी वसुन्धरा खड्काले कानुनविपरीत काम गर्ने प्रहरी अधिकारीमाथि कारबाही गरिने र गल्ती गर्नेलाई सच्याउन निर्देशन दिँदै आएको प्रहरी स्रोतको भनाइ छ।

चाडपर्वमा जुवा नियन्त्रण र प्रहरीको जवाफदेहिता

दसैँ, तिहारजस्ता ठूला चाडपर्वका बेला गाउँदेखि सहरसम्मका विभिन्न स्थानमा ठूलो रकमको जुवा खेल्ने गतिविधि हुने गरेको पाइन्छ। जुवाका कारण कतिपय परिवारको आर्थिक अवस्था बिग्रिने, घरपरिवारमा कलह बढ्ने र मानिसहरूको घरबारसमेत उजाडिने गरेका घटना सार्वजनिक हुँदै आएका छन्।

यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गरी नागरिकको धनजनको सुरक्षा, सामाजिक शान्ति र सुव्यवस्था कायम गर्नु प्रहरीको प्रमुख जिम्मेवारी हो। तर शान्ति सुरक्षा र सुशासन कायम गर्ने जिम्मेवारी पाएको प्रहरी संगठनकै अधिकारीमाथि जुवा खेल्नेहरूलाई कारबाही गर्नुको सट्टा आर्थिक लेनदेनका आधारमा उन्मुक्ति दिएको आरोप लाग्नु गम्भीर विषय हो।

यदि प्रहरी अधिकारीबाटै गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिलाई संरक्षण वा उन्मुक्ति दिने काम भएको पुष्टि हुन्छ भने त्यसले संगठनप्रतिको नागरिक विश्वासमा गम्भीर चोट पुर्‍याउँछ। आर्थिक प्रभाव र पहुँचका आधारमा कसैलाई कारबाही गर्ने र कसैलाई उन्मुक्ति दिने प्रवृत्ति देखिए कानुनी शासन र सुशासनमाथि नै प्रश्न उठ्छ।

आखिर कानुन सबैका लागि समान हो भने पहुँच र आर्थिक हैसियतका आधारमा कसैले उन्मुक्ति पाउने अवस्था कसरी स्वीकार्य हुन सक्छ? जुवा नियन्त्रणमा खटिने प्रहरी नै सम्भावित रूपमा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई संरक्षण गरेको विवादमा मुछिनु संगठनका लागि गम्भीर चुनौती हो।

त्यसैले टाइमलेस होटल प्रकरणको छानबिन केवल एक प्रहरी निरीक्षकको भूमिकामा सीमित हुनुहुँदैन। जुवासम्बन्धी सूचना, प्रहरी परिचालन, सम्भावित आर्थिक लेनदेन र घटनामा संलग्न सबै पक्षको भूमिकाबारे निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न आवश्यक छ।

प्रहरी संगठनको विश्वसनीयता कायम राख्न छानबिन समितिले सीसीटीभी फुटेज, प्रहरी परिचालनसम्बन्धी अभिलेख, ड्युटी विवरण, घटनास्थलको मुचुल्का र सम्बन्धित व्यक्तिहरूको बयानका आधारमा निष्कर्ष निकाल्नुपर्छ। आरोप पुष्टि भए संलग्न जोसुकैलाई कानुनअनुसार कारबाही र आरोप निराधार देखिए सम्बन्धित प्रहरी अधिकारीलाई सफाइ दिनुपर्छ।

आखिर साढे तीन घण्टासम्म होटलमा चलेको प्रहरी अपरेसनको वास्तविकता के थियो? नगद बरामद भएको थिएन भने लाखौँ रुपैयाँको चर्चा किन चल्यो? बरामद भएको थियो भने त्यसको हिसाब कहाँ छ? यी प्रश्नको जवाफ तथ्य र प्रमाणसहित सार्वजनिक हुनु आवश्यक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय