
अत्तरिया । गम्भीर तथा जघन्य प्रकृतिका आपराधिक मुद्दाको अनुसन्धान र फछ्र्यौटमा कैलालीको अत्तरियास्थित इलाका प्रहरी कार्यालय मालाखेतीले सुदूरपश्चिम प्रदेशमै तुलनात्मक रूपमा उत्कृष्ट कार्यसम्पादन गरेको छ। लामो समयदेखि पेन्डिङमा रहेका मुद्दालाई प्राथमिकतामा राख्दै अनुसन्धान तथा कानुनी प्रक्रियालाई प्रभावकारी बनाएको मालाखेती प्रहरीले चालु आर्थिक वर्षमा ११ वटा मुद्दा फछ्र्यौट गर्न सफल भएको हो।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरले जारी गरेको पत्रअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले चालु आर्थिक वर्षमा गम्भीर तथा जघन्य प्रकृतिका ८ वटा पेन्डिङ मुद्दासहित जम्मा ११ वटा मुद्दा फछ्र्यौट गरेको छ। प्रदेश प्रहरी कार्यालयले २०८३ साल कात्तिक १९ गते गरेको अनुगमन तथा निरीक्षणका क्रममा मालाखेतीको मुद्दा फछ्र्यौटको अवस्था प्रदेशका अन्य प्रहरी कार्यालयको तुलनामा उत्कृष्ट पाइएको उल्लेख गरेको छ।

गम्भीर तथा जघन्य प्रकृतिका आपराधिक घटनाको अनुसन्धानलाई समयमै निष्कर्षमा पुर्याउनु प्रहरी संगठनका लागि महत्वपूर्ण जिम्मेवारी मानिन्छ। यस्ता मुद्दामा पीडितलाई न्याय दिलाउने, दोषीलाई कानुनी दायरामा ल्याउने तथा अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउने विषय प्रहरीको कार्यसम्पादनसँग प्रत्यक्ष जोडिएका हुन्छन्। तर, विभिन्न कारणले कतिपय मुद्दा लामो समयसम्म पेन्डिङमा रहने र फछ्र्यौटको दर अपेक्षाकृत कमजोर हुने समस्या देखिँदै आएको छ।
यही अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरले प्रदेशअन्तर्गतका विभिन्न प्रहरी कार्यालयमा मुद्दा फछ्र्यौटको अवस्थाबारे अनुगमन तथा निरीक्षण गर्दै आएको थियो। मुद्दा अनुसन्धान र फछ्र्यौटमा देखिएका कमजोरी सुधार गर्न सम्बन्धित कार्यालयहरूलाई पत्राचारमार्फत आवश्यक निर्देशनसमेत दिइँदै आएको थियो।
प्रदेश प्रहरी कार्यालयको सोही प्रयासबीच मालाखेती प्रहरीले पेन्डिङ मुद्दालाई प्राथमिकतामा राखेर उल्लेखनीय प्रगति गरेको देखिएको हो। विशेषगरी गम्भीर तथा जघन्य प्रकृतिका ८ वटा पेन्डिङ मुद्दासमेत फछ्र्यौट गर्नुले कार्यालयको अनुसन्धान तथा मुद्दा व्यवस्थापनमा देखिएको सक्रियतालाई संकेत गरेको छ।
मालाखेती प्रहरीको कार्यसम्पादनलाई तुलनात्मक रूपमा उत्कृष्ट ठहर गर्दै प्रदेश प्रहरी कार्यालयले अन्य मुद्दा चल्ने प्रहरी कार्यालयहरूलाई पनि गम्भीर तथा जघन्य प्रकृतिका मुद्दा फछ्र्यौटमा आवश्यक पहल गर्न आग्रह गरेको छ। यसले अन्य प्रहरी कार्यालयका लागि पनि मुद्दा व्यवस्थापन तथा अनुसन्धान प्रक्रियामा सुधार गर्न प्रेरणादायी सन्देश दिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखका रूपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महरा कार्यरत छन्। उनकै नेतृत्वमा कार्यालयले मुद्दा अनुसन्धान, पेन्डिङ मुद्दाको व्यवस्थापन तथा फछ्र्यौटलाई प्राथमिकतामा राख्दै नतिजामुखी कार्यसम्पादन गरेको हो।
प्रहरी कार्यालयको प्रभावकारिता केवल नयाँ घटनामा तत्काल प्रतिक्रिया जनाउनुमा मात्र सीमित हुँदैन। विगतमा दर्ता भएका मुद्दाको अनुसन्धानलाई निरन्तरता दिनु, प्रमाण संकलन तथा विश्लेषण गर्नु, अनुसन्धानलाई निष्कर्षमा पुर्याउनु र पीडितलाई न्यायिक प्रक्रियामा सहयोग पुर्याउनु पनि उत्तिकै महत्वपूर्ण पक्ष हुन्। यस दृष्टिले मालाखेती प्रहरीको पछिल्लो उपलब्धिलाई सकारात्मक कार्यसम्पादनका रूपमा हेरिएको छ।
गम्भीर तथा जघन्य अपराधका मुद्दा फछ्र्यौटमा देखिएको यो प्रगतिले प्रहरी संगठनभित्र जिम्मेवारी, जवाफदेहिता र परिणाममुखी कार्यशैलीको महत्वसमेत उजागर गरेको छ। अब अन्य प्रहरी कार्यालयले पनि मालाखेतीको कार्यसम्पादनबाट पाठ सिक्दै पेन्डिङ मुद्दाको संख्या घटाउने र अनुसन्धानलाई प्रभावकारी बनाउने दिशामा काम गर्नुपर्ने देखिन्छ।





