कञ्चनपुर । कञ्चनपुरमा लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका–८ का ३१ वर्षीय गोविन्द महरा रहेका छन्।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले आइतबार शुक्लाफाँटा नगरपालिका–१२ स्थित क्षेत्रबाट उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार महराको साथबाट १९.८० ग्राम खैरो हेरोइन र एउटा मोबाइल बरामद गरिएको छ।

पक्राउ परेका महरालाई बरामद लागूऔषधसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।

लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार बरामद परिमाणको खैरो हेरोइनसम्बन्धी कसुरमा ५ देखि १० वर्षसम्म कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय