
बाँके । बाँकेको जानकी गाउँपालिका–३, कोरियनपुरस्थित दुई व्यापारिक फर्ममा भीषण आगलागी हुँदा पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
आइतबार राति विद्युत्को तार सर्ट भएर आगलागी हुँदा अमर ओलीले सञ्चालन गरेका लक्ष्मी बिजुली भण्डार एण्ड जनरल अर्डर सप्लायर्स र जय हनुमान ट्रेडर्स एण्ड सप्लायर्समा ठूलो क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रहरीका अनुसार दुवै फर्म एकै स्थानमा सञ्चालनमा रहेका थिए। बिजुलीका विभिन्न सामग्रीको गोदामसमेत रहेकाले आगलागीबाट ठूलो परिमाणमा सामान जलेर नष्ट भएको हो। प्रारम्भिक विवरणअनुसार आगलागीबाट पाँच करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरका अनुसार नेपालगन्ज उपमहानगरपालिकाका तीन, कोहलपुर नगरपालिकाको एक, नरैनापुर गाउँपालिकाको एक र नेपाल आयल निगम राँझाको एक गरी छ वटा दमकल परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो।
उनका अनुसार करिब साढे दुई घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो। आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी खटिएका थिए।
आगलागी नजिकैका घरहरूमा समेत फैलिन सक्ने जोखिम बढेपछि सम्भावित क्षति रोक्न केही घर खाली गराइएको प्रहरीले जनाएको छ।





