सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५३ पुरुष र दुई महिला रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विभिन्न प्रहरी एकाइबाट खटिएको संयुक्त टोलीले जुवाखालमा छापा मार्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले जुवाखालबाट नेपाली तथा भारतीय रुपैयाँ गरी कुल १२ लाख ५३ हजार ८४५ रुपैयाँ बरामद गरेको जनाएको छ।

बरामद रकममध्ये नेपाली रुपैयाँ १२ लाख ३२ हजार ८४५ र भारतीय रुपैयाँ १३ हजार १२५ रहेको छ। भारतीय मुद्राको नेपाली मूल्य २१ हजार रुपैयाँ कायम गरिएको प्रहरीले जनाएको छ। यस्तै, जुवाखालबाट ५२ पत्तीका ५३ गड्डी ताससमेत बरामद गरिएको छ।

वीरेन्द्रनगरका विभिन्न वडा क्षेत्रमा नगद राखेर हारजित हुने गरी जुवातास खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले संयुक्त रूपमा कारबाही अघि बढाएको थियो। उक्त कारबाहीमा कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण, जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय लाटीकोइलीबाट प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरू सुर्खेतका विभिन्न स्थानका बासिन्दासँगै अर्घाखाँची, बर्दिया, जुम्ला, दैलेख र कैलालीका छन्। त्यस्तै, भारतको मोतिहारी स्थायी ठेगाना भई वीरेन्द्रनगरमा बस्दै आएका सोनु गुप्ता र राजेश कुमारसमेत पक्राउ परेका छन्।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर जुवा खेल्ने वा सट्टाबाजी गर्न नहुनेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दीपक मगारातीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय