काठमाडौं । साइबर ठगी नियन्त्रण तथा डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने उद्देश्यले नेपाल प्रहरीमा ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC)’ सञ्चालनमा आएको छ।

२०८३ कात्तिक २० गते प्रहरी महानिरीक्षक डा. मनोजकुमार के.सी.को प्रमुख आतिथ्यमा केन्द्रले औपचारिक रूपमा सेवा प्रारम्भ गरेको हो।

नेपाल सरकारको मन्त्रीस्तरीय मिति २०८३ असोज २३ गतेको निर्णयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३’ अनुसार केन्द्र स्थापना गरिएको हो।

यस केन्द्रमार्फत नियामक निकाय, नेपाल प्रहरी, बैंक तथा वित्तीय संस्था, डिजिटल वालेट, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै भौतिक कक्षबाट समन्वयात्मक रूपमा काम गर्ने व्यवस्था गरिएको छ।

साइबर स्क्याम तथा वित्तीय ठगीका घटनामा सम्बन्धित निकायबीच तत्काल सूचना आदानप्रदान, समन्वय र प्रतिकार्य गरी सम्भावित आर्थिक क्षति तथा जोखिम न्यूनीकरण गर्नु केन्द्रको मुख्य उद्देश्य रहेको छ।

त्यसैगरी, साइबर ठगीसम्बन्धी उजुरी तथा सूचना जुनसुकै समयमा प्राप्त गर्न २४ सै घण्टा सम्पर्क अधिकृतको व्यवस्था गरिएको छ। यसका लागि १२४७ आकस्मिक सम्पर्क नम्बरसमेत सञ्चालनमा ल्याइएको छ।

एकीकृत प्रणालीबाट विभिन्न निकायबीचको सहकार्य प्रभावकारी बनाउँदै साइबर अपराध नियन्त्रण, ठगीबाट हुने आर्थिक क्षति न्यूनीकरण र डिजिटल वित्तीय कारोबारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय