काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले आफ्नो सचिवालय व्यवस्थापन तथा जिम्मेवारी बाँडफाँट प्रक्रिया अघि बढाएका छन्। नेतृत्व सम्हालेसँगै उनले आफ्नो सचिवालयमा एक जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई खटाएका छन्।

आईजीपी केसीको सचिवालयमा एसएसपी प्रवीण पोखरेल खटिएका छन्। त्यस्तै, डीएसपी सत्यनारायण थापा र डीएसपी हिरेन्द्र रोकायलाई पनि सचिवालयको जिम्मेवारी दिइएको छ। डिएसपी हिरेन्द्र रोकाया नेपाल प्रहरी संगठनभित्र एक अनुशासित, बौद्धिक तथा व्यावसायिक प्रहरी अधिकृतका रूपमा परिचित छन्।

नयाँ अधिकृतहरूलाई सचिवालयमा ल्याइए पनि यसअघि कार्यरत प्रहरी अधिकृतहरूलाई भने तत्काल हटाइएको छैन। पुराना अधिकृतलाई निरन्तरता दिँदै नयाँ अधिकृतसमेत समेटेर सचिवालय व्यवस्थापन गरिएको छ।

यसले नयाँ नेतृत्वले सुरुवाती चरणमै व्यापक फेरबदल गर्नुभन्दा आवश्यकताअनुसार जिम्मेवारी बाँडफाँट र कार्यसम्पादनलाई प्राथमिकता दिएको संकेत गर्छ।

आईजीपी केसीले कुनै पनि प्रहरी अधिकारीमाथि व्यक्तिगत प्रतिशोध नसाँध्ने स्पष्ट पारिसकेका छन्। प्रहरी संगठनभित्र सरुवा, बढुवा तथा जिम्मेवारी बाँडफाँट गर्दा व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा व्यावसायिक दक्षता, अनुभव र संगठनको आवश्यकतालाई आधार बनाउनुपर्ने मान्यता उनले अघि सारेका छन्।

प्रहरी संगठनमा नेतृत्व परिवर्तनसँगै सचिवालय तथा महत्वपूर्ण जिम्मेवारीमा हेरफेर हुनु सामान्य प्रशासनिक अभ्यास हो। तर, यस्तो निर्णयले संगठनभित्रको मनोबल, कार्यसम्पादन र नेतृत्वप्रतिको विश्वासमा समेत प्रभाव पार्ने भएकाले नयाँ आईजीपीको कार्यशैलीलाई चासोका साथ हेरिएको छ।

विशेषगरी अघिल्लो नेतृत्वको समयमा जिम्मेवारी परिवर्तन भएका अधिकृतहरूको व्यवस्थापन, संगठनभित्रको असन्तुष्टि सम्बोधन र व्यावसायिक वातावरण निर्माण नयाँ नेतृत्वका लागि महत्वपूर्ण विषय हुनेछन्।

अब आईजीपी केसीले सचिवालय व्यवस्थापनसँगै प्रहरी संगठनको समग्र कमान्ड, प्रशासनिक सुधार र कार्यसम्पादनलाई कसरी अघि बढाउँछन् भन्ने विषयले उनको नेतृत्वको प्रारम्भिक दिशा तय गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय