
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) यूएईले राहत तथा उद्धार समितिको संयोजकको जिम्मेवारी संस्थाका सचिव ज्ञानेन्द्र गुरुङलाई दिएको छ।
संघले सार्वजनिक गरेको सूचनाअनुसार गुरुङलाई उक्त समितिको संयोजकमा मनोनयन गरिएको हो। यूएईमा रहेका नेपाली नागरिकलाई आपत्कालीन अवस्था, विभिन्न समस्या तथा कठिनाइमा आवश्यक सहयोग पुर्याउने र उद्धार कार्यमा समन्वय गर्ने जिम्मेवारी उनलाई दिइएको छ।

यूएईमा कुनै नेपाली नागरिक समस्यामा परेमा वा तत्काल सहयोग तथा उद्धार आवश्यक भएमा समितिमार्फत सहजीकरण गरिने संघले जनाएको छ।
नेपाली समुदायको सुरक्षा, हित र आपत्कालीन अवस्थाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले समिति सक्रिय रहने बताइएको छ।
आपत्कालीन सहयोग तथा समन्वयका लागि संयोजक गुरुङलाई +971 55 257 3899 मा सम्पर्क गर्न सकिने एनआरएनए यूएईले जनाएको छ।
संघले यूएईमा रहेका नेपाली समुदायलाई उक्त सम्पर्क विवरण सुरक्षित राख्न र आवश्यक परेको अवस्थामा सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरेको छ।





