काठमाडौँ । वर्दी लगाएको मानिसको जीवनमा जिम्मेवारी हुन्छ, अनुशासन हुन्छ, चुनौती हुन्छ र कर्तव्यको कठोरता पनि हुन्छ। तर त्यही वर्दीभित्र एउटा संवेदनशील मन, थुप्रै अनुभूति र अनगिन्ती कथाहरू पनि लुकेका हुन्छन्। नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापा त्यस्तै एक व्यक्तित्व हुन्, जसले प्रहरी सेवाको व्यस्तता र जिम्मेवारीबीच आफ्ना भावना, भोगाइ र स्मृतिलाई गीतका शब्दमार्फत जीवन्त बनाइरहेका छन्।

उनकै शब्द रचनामा तयार भएको नयाँ गीत ‘पिरतीको मिठो धुन’ सार्वजनिक भएको छ। चर्चित गायिका अन्जु पन्त र गायक ताराप्रकाश लिम्बुको सुमधुर स्वर रहेको गीतको भिडियोसमेत दर्शकमाझ आएको छ। भिडियोमा प्रदीप लामा र जुना सुन्दासले अभिनय गरेका छन्।

थापाका लागि गीत केवल मनोरञ्जनको माध्यम होइन, मनमा वर्षौंदेखि थन्किएका अनुभूति पोख्ने एउटा सुन्दर माध्यम पनि हो। प्रहरी सेवाका क्रममा देखेका दृश्य, भेटेका मानिस, सुनेका कथा, भोगेका पीडा, खुसी र जीवनका अनेक उतारचढाव उनका सिर्जनाका आधार बन्दै आएका छन्।

विशेषगरी द्वन्द्वकालमा सुदूरपश्चिम र मध्यपश्चिमका दुर्गम क्षेत्रमा लामो समय बिताएका थापाले त्यहाँको जीवन, समाज, प्रकृति र मानिसका संघर्षलाई नजिकबाट नियाले। ती यात्राले उनका आँखामा दृश्य मात्र छोडेनन्, मनमा थुप्रै कथा र शब्द पनि जन्माइदिए। कतिपय अनुभूति कागजमा सीमित रहे भने कतिपयले गीतको रूप पाए।

‘हिउँचुलीमा हिउँ छैन’ र ‘सल्लेरी’ जस्ता गीतमा उनले आफ्नो समय, उमेर र तत्कालीन परिवेशका अनुभूतिलाई शब्दमा उतारेका छन्। लामो समय कागजका पानामा सुरक्षित राखेका सिर्जनालाई पछिल्लो समय संगीत र दृश्यको माध्यमबाट श्रोतामाझ पुर्‍याउन थालेका हुन्।

उनका गीतमा प्रेम मात्रै छैन, जन्मभूमिको सुगन्ध पनि छ। प्रकृतिको सौन्दर्य, गाउँबेसीका सम्झना र माटोसँग जोडिएको आत्मीयता पनि भेटिन्छ। यसको सुन्दर उदाहरण हो, ‘पहाडकी रानी’ गीत। आफ्नो जन्मभूमि इलामप्रतिको अगाध माया र सम्मान समेटिएको उक्त गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ। गीतको मेल भर्सनमा नेपाल आइडल विजेता करण परियार र फिमेल भर्सनमा अनु चौधरीले स्वर दिएका छन्।

त्यस्तै, ‘पछ्यौरी’ गीतमार्फत समयको बहाव र मानिसको जीवनयात्रालाई ठट्यौलो शैलीमा प्रस्तुत गरेका छन्। समीर खरेलको संगीत र स्वर रहेको उक्त गीतले पनि जीवनका अनुभूतिलाई फरक ढंगले अभिव्यक्त गरेको छ।

‘भकारीमा धान भरियो’, ‘हावा जस्तै उडौँला’ र ‘म पनि त’ लगायतका उनका गीत अडियो माध्यमबाट सार्वजनिक भइसकेका छन्। गायक राजेशपायल राईको स्वरमा रहेको ‘मेरो टेन्सन’ लगायत केही फिल्मी गीतमा समेत उनका शब्द सुनिएका छन्।

थापाका सिर्जनाको विशेषता भनेकै जीवनलाई नजिकबाट महसुस गरेर शब्दमा उतार्नु हो। उनका लागि कुनै अपरिचित मानिससँगको भेट एउटा कथा बन्न सक्छ, यात्रामा देखिएको दृश्य गीतको भाव बन्न सक्छ भने ड्युटीका क्रममा मन छोएको कुनै क्षण सिर्जनाको प्रेरणा बन्न सक्छ।

उनी भन्छन्, ‘भेटिएका हरेक मानिससँग केही कथा हुन्छन्। घुमेका हरेक ठाउँमा विशिष्ट शब्द र अनुभूति हुन्छन्। कहिलेकाहीँ ड्युटीका बीचमा देखिएको दृश्य नै गीतको प्रेरणा बन्छ भने कहिलेकाहीँ कुनै पुरानो स्मृतिले शब्दहरू जन्माउँछ।’

सायद यही कारण उनका गीतमा बनावटीपनभन्दा जीवनका वास्तविक अनुभूति बढी भेटिन्छन्। उनी सिर्जनालाई हतारमा सार्वजनिक गर्नुभन्दा समयसँगै परिपक्व हुन दिन रुचाउँछन्। सेवाका क्रममा पुगेका स्थान, त्यहाँका मानिस र समाजले दिएका अनुभूतिलाई सिर्जनामार्फत जीवनभर सुरक्षित राख्नु पनि उनका लागि महत्त्वपूर्ण छ।

पछिल्लो गीत ‘पिरतीको मिठो धुन’ मा अन्जु पन्त र ताराप्रकाश लिम्बुको स्वरले प्रेमका कोमल भावनालाई जीवन्त बनाएको छ। गीतले प्रेमको मिठाससँगै थापाभित्र रहेको भावनात्मक र सिर्जनशील व्यक्तित्वलाई पनि उजागर गरेको छ।

विगतमा सार्वजनिक भएका आफ्ना गीतलाई श्रोताहरूले माया र साथ दिएकोमा थापा आभार व्यक्त गर्छन्। श्रोताहरूको यही माया र हौसलाले नयाँ सिर्जना सार्वजनिक गर्न थप प्रेरणा मिलेको उनको भनाइ छ। ‘पिरतीको मिठो धुन’ लाई पनि श्रोताहरूले उत्तिकै माया गर्नेछन् भन्ने विश्वास उनले लिएका छन्। श्रोताहरूको साथ र प्रोत्साहनकै कारण नयाँ गीत बजारमा ल्याउने जमर्को गरेको उनी बताउँछन्।

थापाका अनुसार एउटा गुणस्तरीय गीत तयार पारेर श्रोतामाझ पुर्‍याउन समयसँगै आर्थिक लगानी पनि आवश्यक पर्छ। त्यसैले आर्थिक स्रोतको व्यवस्थापन र समयको उपलब्धतालाई ध्यानमा राख्दै वर्षमा एउटा गीत सार्वजनिक गर्ने गरेको उनी बताउँछन्। आगामी दिनमा पनि आवश्यक स्रोतसाधन र समयको व्यवस्थापन हुनासाथ नयाँ सिर्जना श्रोतामाझ ल्याउने उनको प्रयास जारी रहनेछ।

नेपाल प्रहरीको एसएसपीजस्तो जिम्मेवार र गरिमामय पदमा रहेर सांगीतिक यात्रालाई निरन्तरता दिनु आफैँमा चुनौतीपूर्ण छ। व्यावसायिक जिम्मेवारी निर्वाह गर्दै सिर्जनाका लागि समय निकाल्नु र आर्थिक स्रोत व्यवस्थापन गर्नु सहज छैन। तर थापाले यसलाई बाधाभन्दा अवसरका रूपमा लिएका छन्। आफ्नो मूल व्यावसायिक जिम्मेवारीमा कुनै सम्झौता नगरी समयको सदुपयोग गर्दै उनी सांगीतिक क्षेत्रमा पनि आफ्नै पहिचान स्थापित गर्दै अघि बढिरहेका छन्।

प्रहरी सेवामा नागरिकको सुरक्षा, समाजमा शान्ति र कानुनको कार्यान्वयनका लागि खटिने थापा फुर्सदका क्षणमा भने शब्दसँग संवाद गर्छन्। जिम्मेवारीको कठोरताबीच मनका कोमल अनुभूतिलाई गीतमा उतार्ने उनको यो यात्रा आफैँमा प्रेरणादायी छ।

वर्दीले उनलाई प्रहरी अधिकारीका रूपमा चिनाएको छ भने सिर्जनाले अर्को परिचय थपेको छ। जहाँ कर्तव्यसँगै प्रेमका धुन सुनिन्छन्, जहाँ जीवनका भोगाइ शब्द बनेर पोखिन्छन् र जहाँ एउटा प्रहरी अधिकारीभित्रको संवेदनशील सर्जक मुस्कुराइरहेको हुन्छ।

एसएसपी कमल थापाको सांगीतिक यात्रा केवल गीत सार्वजनिक गर्ने क्रम मात्र होइन, जिम्मेवारी र व्यस्तताबीच पनि आफ्नो रुचि, प्रतिभा र सपनालाई जीवित राख्न सकिन्छ भन्ने सुन्दर उदाहरणसमेत हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय