
काठमाडौं । सडकमा एउटी युवती हिँडिरहेकी हुन्छिन्। उनको पछिपछि एक युवक लागिरहेका छन्। लामो कपाल, आँखामा कालो चस्मा, कानमा मुन्द्रा, हातमा औँठी, लेदरको ज्याकेट र जिन्सको पाइन्ट लगाएका युवकले युवतीलाई जिस्क्याइरहेका हुन्छन्। युवती असहज मान्दै ‘फटाहा’ भन्दै अगाडि बढ्छिन्, तर युवकले पछ्याउन छाड्दैनन्।
यत्तिकैमा पृष्ठभूमिमा गायक उदितनारायण झाको चर्चित गीत ‘बगैँचामा नजाऊ तिमी’ बज्न थाल्छ। गीतमा ‘भमराले चुमिदेला…’ भन्ने हरफ आउनासाथ दृश्यमा प्रहरी प्रवेश गर्छ र युवतीलाई पछ्याउँदै जिस्क्याइरहेका युवकलाई नियन्त्रणमा लिन्छ।

दृश्य हेर्दा मनोरञ्जनात्मक लागे पनि यसको सन्देश गम्भीर छ। सार्वजनिक स्थलमा महिलामाथि हुने दुर्व्यवहार, जिस्क्याउने, पछ्याउने तथा असहज बनाउने व्यवहारलाई सामान्य रूपमा नलिन र यस्ता गतिविधिविरुद्ध समयमै प्रहरीलाई जानकारी गराउन सचेत गराउने उद्देश्यले इलाका प्रहरी कार्यालय लेटाङ, मोरङले तयार पारेको यो भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
तर भिडियोको प्रभाव सामाजिक सञ्जालमा आएको चर्चा र प्रशंसामा मात्र सीमित रहेन। भिडियो सार्वजनिक भएपछि फेसबुकको कमेन्ट बक्समा एक युवतीले लेटाङ क्षेत्रमा यस्ता दुर्व्यवहारका घटना धेरै हुने गरेको भन्दै प्रहरीको ध्यानाकर्षण गराइन्। प्रहरीले पनि उक्त प्रतिक्रियालाई बेवास्ता नगरी तत्काल जवाफ दिँदै विषयलाई निगरानीमा राखिएको जनाएको थियो।
त्यसपछि भिडियो हेरेर तीन जना महिलाले प्रहरीलाई फोन गरी आफूहरूमाथि समेत यस्तै प्रकृतिका दुर्व्यवहार भएको जानकारी गराए। यसले सचेतनामूलक सामग्रीले नागरिकलाई आफ्ना समस्या प्रहरीसमक्ष राख्न उत्प्रेरित गर्न सक्ने देखाएको छ।
इलाका प्रहरी कार्यालय लेटाङका प्रमुख प्रहरी निरीक्षक सागर शाहका लागि यही पक्ष अभियानको महत्वपूर्ण उपलब्धि हो। “भिडियो रचनात्मक बनेको भनेर प्रशंसा त भएकै छ। तर त्यसभन्दा ठूलो कुरा यसले समाजमा दबेर बसेका घटनालाई सतहमा ल्याउन पीडितलाई हिम्मत दिएको छ,” शाह भन्छन्, “तीन जना दिदीबहिनीले फोन गरेर आफूमाथि पनि यस्तै घटना भएको जानकारी दिनुभयो। यसले दमित आवाजलाई बाहिर ल्याउन प्रेरित गरेको हामीले पायौँ।”
प्रहरी निरीक्षक शाहका अनुसार प्रहरीको भूमिकालाई घटना भएपछि मात्र प्रतिक्रिया दिने ‘रिएक्टिभ पुलिसिङ’बाट घटना हुनुअघि नै जोखिम न्यूनीकरण र नागरिक सचेतनामा केन्द्रित ‘प्रोएक्टिभ पुलिसिङ’तर्फ लैजाने प्रयास भइरहेको छ। “घटना भएपछि पुग्नु हाम्रो जिम्मेवारी हो। तर घटना नै हुन नदिन सक्नु अझ महत्वपूर्ण जिम्मेवारी हो,” शाह भन्छन्, “कानुनी व्यवस्थाबारे नागरिकलाई सचेत गराउने र समाजमा पूर्ण सुरक्षाको अनुभूति दिलाउनु हाम्रो मुख्य उद्देश्य हो।”
लेटाङ प्रहरीले सचेतनामूलक सामग्री निर्माणमा कार्यालयकै आन्तरिक जनशक्तिलाई परिचालन गर्दै आएको छ। पछिल्लो भिडियोको स्क्रिप्ट लेखन, सुटिङ र सम्पादनसम्मका अधिकांश काम प्रहरी कर्मचारीले नै गरेका हुन्। भिडियोमा स्थानीय समुदायका व्यक्तिहरूलाई समेत अभिनयमा सहभागी गराइएको छ।
परम्परागत प्रहरी सूचना प्रवाहभन्दा फरक शैली अपनाउँदै सामाजिक सञ्जालमा नागरिकले रुचाउने दृश्य, संवाद र संगीतमार्फत सन्देश दिने प्रयास गरिएको छ। गम्भीर विषयलाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गर्दा सन्देश नागरिकसम्म सहज रूपमा पुग्ने प्रहरीको बुझाइ छ।
इलाका प्रहरी कार्यालय लेटाङको नेतृत्व अहिले प्रहरी निरीक्षक सागर शाहले गरिरहेका छन्। करिब एक वर्षको कार्यकालमा शाहको नेतृत्वमा कार्यालयले नियमित शान्ति–सुरक्षा र अपराध अनुसन्धानसँगै नागरिकसँग प्रत्यक्ष जोडिने तथा प्रविधिमैत्री प्रहरी सेवाका अभ्यासलाई अघि बढाएको जनाएको छ।
नागरिकका गुनासा सुन्ने, सामाजिक सञ्जालबाट आएका प्रतिक्रियालाई सम्बोधन गर्ने, सचेतनामूलक सामग्री निर्माण गर्ने तथा सुरक्षा निगरानीमा प्रविधिको प्रयोग बढाउने कामलाई कार्यालयले प्राथमिकतामा राखेको छ। प्रहरी संगठनभित्र नयाँ सोच र कार्यशैलीमा रुचि राख्ने अधिकारीका रूपमा परिचित शाहको नेतृत्वमा उपलब्ध स्रोतसाधनबाट नयाँ योजना परीक्षण गर्ने प्रयास भइरहेको कार्यालयको भनाइ छ।
प्रहरी कार्यालयलाई केवल उजुरी दर्ता गर्ने वा घटना अनुसन्धान गर्ने स्थानका रूपमा मात्र नभई नागरिकले आफ्नो समस्या सहज रूपमा राख्न सक्ने सार्वजनिक सुरक्षा केन्द्रका रूपमा विकास गर्ने प्रयाससमेत भइरहेको छ।
यसै क्रममा लेटाङ प्रहरीले सुरक्षा निगरानीमा ड्रोन प्रविधिको प्रयोगलाई समेत अघि बढाएको छ। प्रविधिको प्रयोगसँगै सामाजिक सञ्जाललाई नागरिक सचेतना र प्रहरी–नागरिक संवादको माध्यमका रूपमा उपयोग गरिएको छ। विभिन्न सामाजिक विषयमा सचेतनामूलक भिडियो तथा सामग्री निर्माण गरी सार्वजनिक गर्ने अभ्यासलाई पनि निरन्तरता दिइएको छ।
लेटाङ प्रहरीको पछिल्लो अभियानले एउटा महत्वपूर्ण पक्ष देखाएको छ—प्रहरीको काम अपराध भएपछि मात्र घटनास्थलमा पुगेर कारबाही गर्नुमा सीमित छैन। सम्भावित जोखिमबारे नागरिकलाई पहिल्यै सचेत गराउनु, नागरिकका आवाज सुन्नु र अपराध हुनुअघि नै रोकथामको वातावरण निर्माण गर्नु पनि प्रहरी सेवाको महत्वपूर्ण हिस्सा हो।
एउटा युवतीलाई जिस्क्याउने दृश्यबाट सुरु भएको भिडियो अन्ततः तीन जना महिलालाई आफ्ना अनुभव प्रहरीसमक्ष राख्ने ठाउँसम्म पुग्यो। यही कारण यो भिडियोको सफलता सामाजिक सञ्जालको ‘भ्यु’ वा ‘कमेन्ट’मा मात्र खोज्नुपर्ने विषय होइन।
गीत, अभिनय र प्रविधिको प्रयोगबाट लेटाङ प्रहरीले दिएको सन्देश एउटै छ—घटना भएपछि प्रहरी पुग्नु आवश्यक छ, तर घटना हुनै नदिने वातावरण बनाउन प्रहरी अझ पहिले नागरिकसम्म पुग्नुपर्छ।
https://www.facebook.com/reel/2063534287662569/?fs=e&mibextid=wwXIfr




