
काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री डा. आरजु देउवा राणासँग निकट सम्बन्ध रहेको तथा सम्पत्ति शुद्धीकरण अनुसन्धानमा थुनामा रहेका दीपक भट्टसँग जोडिएका रामचन्द्र भट्ट ‘चन्दने’लाई पक्राउ गर्ने प्रयास असफल भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको संयुक्त टोली उनी रहेको सूचनाका आधारमा पुगे पनि उनलाई फेला पार्न सकेन।
अनुसन्धानमा संलग्न स्रोतका अनुसार डडेलधुराका स्थायी बासिन्दा चन्दने लामो समयदेखि विभिन्न आर्थिक चलखेल र तस्करीसम्बन्धी गतिविधिमा ‘सेटिङ मिलाउने’ व्यक्तिका रूपमा अनुसन्धानको दायरामा थिए। विशेषगरी सुपारी, केराउलगायतका वस्तुको अवैध कारोबारमा बिचौलियाको भूमिका खेलेको आरोप उनीमाथि छ।

जेनजी आन्दोलनपछि अष्ट्रेलिया गएका चन्दने केही समयअघि नेपाल फर्किएका थिए। त्यसपछि दीपक भट्टमाथि भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा उनको नामसमेत जोडिएपछि सुरक्षा निकायले निगरानी बढाएको थियो।
गत आइतबार राति उनी काठमाडौंको तिनकुनेस्थित एक पार्टी प्यालेसमा रहेको गोप्य सूचनाका आधारमा सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली परिचालन गरिएको थियो। राति करिब ९ बजेतिर पक्राउको तयारी गरिए पनि टोली पुग्नुअघि नै उनी त्यहाँबाट निस्किसकेको स्रोतले जनाएको छ।
अनुसन्धान अधिकारीहरूका अनुसार रामचन्द्र भट्टविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। उनीमाथि तस्करी नेटवर्क सञ्चालनमा सहजीकरण गर्ने, विभिन्न व्यक्तिको रकम विदेशमा व्यवस्थापन (पार्किङ) गराउने तथा अन्य आर्थिक अनियमिततासम्बन्धी विषयमा समेत अनुसन्धान भइरहेको विभागले जनाएको छ।



