
काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवाका विभिन्न क्षेत्रमा उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाले जोखिममा परेका तथा घाइतेमध्ये आज बिहानसम्म १२३ जनाको हवाई उद्धार गरेको जनाएको छ।
सेनाका अनुसार टिमुरे क्षेत्रबाट मात्रै ९५ जनाको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये आठ जना विदेशी नागरिक रहेका छन्। विदेशी नागरिकलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको छ भने अन्यलाई धुन्चे लैजाने व्यवस्था मिलाइएको छ।

यसैगरी, रसुवाको हाकुस्थित जलविद्युत् आयोजनाको टनेलमा फसेका सात जनालाई जीवितै उद्धार गरिएको छ। अन्य तीनवटा टनेलमा पनि उद्धार टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको सेनाले जनाएको छ।
टिमुरे क्षेत्रमा सम्पर्कविहीन रहेका २१ जना भारतीय पर्यटकको समेत सकुशल उद्धार गरी काठमाडौँ ल्याउने क्रम जारी रहेको जनाइएको छ।
बाढी प्रभावित क्षेत्रका नागरिकको सुरक्षालाई ध्यानमा राख्दै सरकारले आज बिहानैदेखि खोजी, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाएको छ। नेपाली सेनाले प्रभावित क्षेत्रमा रातिदेखि नै खाद्यान्न, टेन्ट, औषधिलगायत आवश्यक राहत सामग्री पुर्याएको जनाएको छ।
उद्धार अभियानमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै निजी क्षेत्रका हेलिकोप्टर तथा अन्य स्रोतसाधनसमेत परिचालन गरिएको छ। बाढी आएको बुधबारदेखि नै सुरक्षा निकायका टोलीले हवाई तथा स्थलमार्गबाट उद्धार सुरु गरेका थिए।
आज टिमुरे, स्याफ्रुबेँसी तथा भोटेकोशी नदी आसपासका क्षेत्रमा हवाई र पैदल टोली परिचालन गरी उद्धार तथा बेपत्ताको खोजीलाई तीव्रता दिइएको छ।
सरकारले नदी तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै विपद् व्यवस्थापनका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाएको छ।




