काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले राहत सामग्री पुर्‍याउने तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। बाढीबाट सबैभन्दा बढी प्रभावित टिमुरेमा बिहीबार बिहानसम्म ४ सटल राहत सामग्री पुर्‍याइएको सेनाले जनाएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार राहत सामग्री बोकेका ११ वटा ट्रक नुवाकोटको त्रिशूलीमा पठाइएको छ। त्रिशूलीबाट हेलिकप्टरमार्फत ती सामग्री रसुवाका प्रभावित क्षेत्रमा पुर्‍याउने तयारी गरिएको छ।

बाढी प्रभावितको उद्धारका लागि सेनाले बिहीबार बिहानैदेखि ५ वटा हेलिकप्टर परिचालन गरेको छ। सेनाका अनुसार मैलुङ टनेल क्षेत्रबाट ३ जना र टिमुरेबाट १४ जनाको हवाई उद्धार गरिएको छ। यस्तै, स्थलमार्गबाट थप ६३ जनाको उद्धार गरिएको छ।

सेनाका अनुसार हालसम्म रसुवालगायत प्रभावित क्षेत्रबाट ११४ जनाको उद्धार गरिएको छ। नुवाकोटदेखि चितवनसम्मको क्षेत्रमा खोज तथा उद्धारका लागि २ हजारभन्दा बढी सैनिक जनशक्ति परिचालन गरिएको छ।

गएरातिसमेत सेनाका ११ वटा टोलीले स्थलमार्गबाट खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएका थिए। बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने र उद्धार अभियानलाई थप प्रभावकारी बनाउने गरी सेना परिचालन भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय