
काठमाडौँ । देश गम्भीर विपत्तिको सामना गरिरहेका बेला सरकार उद्धार, राहत तथा प्रभावित नागरिकको व्यवस्थापनमा तीव्र रूपमा जुटिरहेको प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले बताएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले विपद्को सामना गर्न सरकारका सबै संयन्त्र परिचालन गरिएको र स्वदेश तथा विदेशमा रहेका नेपालीसहित अन्तर्राष्ट्रिय समुदायबाट समेत सहयोग र सहकार्य भइरहेको उल्लेख गरेका छन्।

उनका अनुसार उद्धारका लागि बिहान ६ः३० बजेदेखि नै हेलिकोप्टर उडान सुरु गरिएको छ। हालसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टरलाई समेत तयारी अवस्थामा राखिएको छ।
नेपाली सेनाको उद्धार टोलीले रसुवाको टिमुरेबाट ११६ जनाको सकुशल उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेको प्रधानमन्त्री शाहले बताएका छन्। यस्तै, टनेलभित्र रहेका सात जना नेपाली नागरिकको समेत सफल उद्धार गरिएको उनले जानकारी दिएका छन्।
प्रभावित क्षेत्रमा आवश्यक सामग्री पुर्याउने कामलाई पनि प्राथमिकताका साथ अघि बढाइएको छ। राहत सामग्रीसँगै जेनेरेटर, पोर्टेबल मोबाइल टावर, स्वास्थ्य सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने उपकरणहरू पठाउने काम भइरहेको जनाइएको छ।
सञ्चार तथा विद्युत् सेवामा समस्या भएका स्थानमा अस्थायी मोबाइल नेटवर्क र चार्जिङको व्यवस्था गर्ने तयारीसमेत भइरहेको छ।
यसैगरी, नुवाकोटमा अस्थायी शिविर निर्माण गरी प्रभावितका लागि खाना तथा पानीको व्यवस्था गरिएको छ। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन ड्रोनमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे सूचना सङ्कलन गर्ने काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ।
हेलिकोप्टरबाट उद्धार गर्दा गम्भीर अवस्थामा रहेका व्यक्ति, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने प्रधानमन्त्री शाहले बताएका छन्।
राज्यका सबै संयन्त्र उद्धार तथा राहतमा परिचालित रहेकाले प्रभावित नागरिकलाई धैर्य र संयम कायम राख्न आग्रह गर्दै प्रधानमन्त्री शाहले विपद्को यो कठिन घडीमा सबै एकजुट भएर सामना गर्न आह्वान गरेका छन्।




