
चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बगेर आएका ६४ वटा शव चितवनका त्रिशूली र नारायणी नदी किनारका विभिन्न क्षेत्रमा फेला परेका छन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बाढीपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा सुरक्षा सतर्कता बढाइएको थियो। माथिल्लो तटीय क्षेत्रबाट बगाएर ल्याएका शव नदी किनारमा भेटिने क्रम अझै जारी रहेकाले संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ।

फेला परेका शवको पहिचान, कानुनी प्रक्रिया तथा सुरक्षित व्यवस्थापनका लागि जिल्ला सुरक्षा समितिको समन्वयमा सम्बन्धित सरकारी तथा निजी स्वास्थ्य संस्था र अन्य निकाय परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार प्रत्येक शवको आवश्यक अभिलेख राख्ने, स्थान पहिचान गर्ने, मुचुल्का तयार पार्ने र नम्बरिङ गरी शव ब्यागमा ट्याग लगाउने कार्य भइरहेको छ। त्यसपछि शवलाई शवगृहमा सुरक्षित राखेर पहिचानको प्रक्रिया अघि बढाइएको छ।
चितवनमा उपलब्ध शवगृहको क्षमता सीमित रहेकाले थप शव फेला परेमा व्यवस्थापन चुनौतीपूर्ण बन्न सक्ने प्रशासनले जनाएको छ। आवश्यक परे सरकारी तथा निजी स्वास्थ्य संस्थाका शवगृह, शीत भण्डारण र अन्य उपलब्ध स्रोतसाधन प्रयोग गरिने तयारी गरिएको छ।
शव खोजीका लागि त्रिशूली नदीको मौवाखोला क्षेत्रदेखि नारायणी नदीको गोलाघाटसम्म सुरक्षा टोली परिचालन गरिएको छ। खोजी तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी खटिएका छन्। स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा नदी तटीय क्षेत्रका बासिन्दाले समेत खोजी कार्यमा सहयोग गरिरहेका छन्।
प्रशासनले नदी किनारमा बाढीले बगाएर ल्याएका ग्यास, काठ, दाउरा वा अन्य सामग्री संकलन गर्ने उद्देश्यले भीड नगर्न आग्रह गरेको छ। त्यस्ता सामग्री संकलन गरे कानुनी कारबाही तथा जफत हुन सक्ने चेतावनी दिइएको छ।
यस्तै, बाढीमा फेला परेका शवका संवेदनशील तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक नगर्न प्रशासनले आग्रह गरेको छ। यस्ता दृश्यले पीडित परिवार तथा सर्वसाधारणमा थप मानसिक तनाव र त्रास उत्पन्न गर्न सक्ने भएकाले कुनै शव फेला परेमा फोटो वा भिडियो सार्वजनिक गर्नुको सट्टा तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी दिन अनुरोध गरिएको छ।




