
काठमाडौं — सुनचाँदी पसलमा नक्कली तिलहरी धितो राखी ११ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्ने महिला रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ४२ वर्षीया दिलमाया मगर हुन्।
बुद्धनगरस्थित एक सुनचाँदी पसलमा छड्के तिलहरी धितो राखी रकम लिएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो। सोमबार उनी अर्को पसलमा गहना धितो राख्न पुगेकी बेला व्यापारीहरूले शंका गरी प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको हो।

दिलमाया मगरले आफू प्रहरी सहायक निरीक्षक (असई) भएको भन्दै असईको तस्बिर देखाएर विश्वास दिलाउने र त्यसकै आधारमा ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई ७ दिनको म्याद लिई ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ। प्रहरीले यस्ता किसिमका ठगी कार्यविरुद्ध सतर्क रहन व्यापारी तथा सर्वसाधारणलाई आग्रह समेत गरेको छ।



