
काठमाडौं — लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा र अफिमसहित सात जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र विभिन्न इलाका प्रहरी कार्यालयहरूको संयुक्त टोलीले दुई फरक जिल्लाबाट यो सफलता हात पारेको हो।
मकवानपुरको कैलाश गाउँपालिका–५, कटहरे पोखरीस्थित घरहरूमा छापा मार्दा ५४ बोरा अवैध गाँजा, अर्थात् करिब १,०७४ किलो गाँजा फेला परेको हो।

यस घटनामा संलग्न रहेको आरोपमा ७३ वर्षीय हरिबहादुर वाइवा, ४८ वर्षीय बुद्धिबहादुर पाख्रिन, ३४ वर्षीय अरुण गोले, र १९ वर्षीय राजेन्द्र लामालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूका घरमा गरिएको खानतलासीका क्रममा उक्त मात्रामा गाँजा बरामद भएको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पालुङ, मकवानपुरमा बुझाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको टोलीले सोमबार साँझ कैलालीको घोडाघोडी नगरपालिका–१ बाट २.७ किलो अफिमसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा हुम्लाको सार्किघाट गाउँपालिका–५ का ३४ वर्षीय लोकेन्द्र साही, २७ वर्षीय शालु साही र रोल्पाको सुनछहरी गाउँपालिका–३ की ३२ वर्षीया पूर्णिमा पुन मगर रहेका छन्। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय सुखड, कैलालीमा बुझाइएको ब्यूरोले जनाएको छ।
प्रहरीका अनुसार लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूको निगरानी र नियन्त्रणका लागि देशभरि विशेष अभियान सञ्चालन गरिँदै आएको छ।



