
कैलाली — कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट प्रहरीले २ किलो ७१४ ग्राम अवैध लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशदत्त अवस्थीका अनुसार सोमबार साँझ विशेष सुराकीको आधारमा लागुऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर तथा धनगढी शाखाका प्रहरी सहायक निरीक्षक (असई) मदन उपाध्यायको कमाण्डमा इलाका प्रहरी कार्यालय सुखडको संयुक्त टोलीले घोडाघोडी टोलस्थित सो होटलमा छापा मारेको थियो।

पक्राउ पर्नेहरूमा हुम्ला सर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्र बहादुर शाही, २७ वर्षीय सालु शाही र रोल्पा सुनछहरी गाउँपालिका–३ की ३२ वर्षीया पूर्णिमा पुन मगर रहेका छन्।
डिएसपी अवस्थीका अनुसार पक्राउ परेकाहरूको साथबाट लुकाइछिपाई राखिएको अवस्थामा फेला पारिएको अफिम हाल परीक्षण तथा अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको छ। उनीहरूमाथि लागूऔषध ओसारपसार तथा कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
अवैध लागूऔषधको कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी कडा पार्दै इलाका प्रहरी कार्यालय सुखडले सक्रियता बढाएको डिएसपी अवस्थीले बताएका छन्।



