
सिन्धुपाल्चोक – भोटेकोशी गाउँपालिका–५, कोलगाउँमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कारपछि हत्या भएको छ।घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार मदिरा सेवन गरेका ती पाँच जनाले नसाको सुरमा पालैपालो बलात्कारपछि बालिकाको हत्या गरेका थिए।पक्राउ परेका व्यक्तिहरूमा सोही ठाउँका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, २० वर्षीय दावातामाङ, २२ वर्षीय लाक्पा पासाङ तामाङ र ३२ वर्षीय नामग्याल शेर्पा छन्।

असार १० गते पदमबहादुर तामाङकी ११ वर्षीया छोरी निशा तामाङ दिनभर बेपत्ता भएपछि आफन्तहरूले खोजी थालेकाथिए। रोजगारीको सिलसिलामा उनका आमाबुवा इराकमा रहेकाले उनी दिदीको घरमा बस्दै कक्षा ७ मा अध्ययनरत थिइन्।
भोलिपल्ट बिहान स्थानीयले छ्यादीखोला जङ्गल क्षेत्रमा शंकास्पद वस्तु देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। खबरपाएलगत्तै जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थलपुगेको थियो।
घटनाको गम्भीरता हेरेर प्रहरी प्रधान कार्यालयअन्तर्गत केनाइन शाखाबाट इन्स्पेक्टर कृष्ण बस्नेतको नेतृत्वमा तालिम प्राप्तदुई कुकुर घटनास्थलमा परिचालन गरिएको थियो। कुकुरको सहायताले अभियुक्तहरूको पहिचान गर्न मद्दत पुगेको प्रहरीलेजनाएको छ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार मदिरा सेवनपछि पाँच जनाले पालैपालो बालिकामाथि बलात्कार गरी हत्यागरेका थिए। त्यसपछि शव छ्यादीखोला जङ्गलमा फालेर अभियुक्तहरू फरार भएका थिए।
प्रहरी उपरीक्षक कार्कीका अनुसार, “घटनास्थल वरपरका गतिविधि, साक्ष्य संकलन, शारीरिक प्रमाण र कुकुरले देखाएकोमार्गको आधारमा अनुसन्धान अघि बढाएर पाँच जनालाई पक्राउ गर्न सफल भयौं।” नियन्त्रणमा लिइएका व्यक्तिहरूको घरखानतलासी गर्दा अपराधसँग सम्बन्धित प्रमाणहरू पनि फेला परेका छन !
प्रहरीका अनुसार पक्राउ गरिएकाहरु मृतक बालिकाको नातेदार र छिमेकीहरू हुन्। पक्राउ गरिएका ५ जनालाई अदालतबाट ७ दिनको म्याद अनुमति लिई मुलुकी अपराधी संहिता २०७४ को करणी र ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



