
हेटौंडा — खैरो हेरोइन (ब्राउन हेरोइन) बिक्री वितरण गरेको आरोपमा एक पसल सञ्चालक पक्राउ परेका छन्। मकवानपुरको बकैया गाउँपालिका–४ स्थित जुरेली बजारमा रहेको ‘बकैया इन्टरप्राइजेज’ सञ्चालक ४० वर्षीय आमोद बस्नेतलाई लागुऔषधसहित पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालका अनुसार, पसलमा खानतलासी गर्दा कुनामा लुकाइएको अवस्थामा बियरको कार्टुनभित्र राखिएको डिजिटल तराजु १ थान र प्लास्टिकले बेरिएको २७ वटा साना पुरियामा गरी जम्मा १ ग्राम ७४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ।

प्रवक्ता अर्यालले बताएअनुसार, बस्नेतले आफ्नै पसलमार्फत स्थानीय युवाहरूमाझ खैरो हेरोइन बिक्री गर्दै आएको सूचना पाएपछि प्रहरीले निगरानी बढाउँदै नियन्त्रणमा लिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।



