
काठमाडौँ, असार —सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धका सामग्री प्रकाशन गरेको आरोपमा एक जना युट्युबरलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाग्लुङ निसिखोला गाउँपालिका–४ निवासी ३६ वर्षीय ड्राइभर रेशम उर्फ रेशमराज पौडेल रहेका छन्। उनलाई सोमबार नेपालगञ्ज रूपैडियाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पौडेलले युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा व्यक्तिहरू तथा संस्थाहरूमाथि तथ्यहीन र आधारहीन सामग्री प्रसारण गर्दै सार्वजनिक धारणा बिगार्ने कार्य गर्दै आएका थिए।
साइबर ब्यूरोको टोलीले केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) को सहयोगमा उनलाई पक्राउ गरेको हो।
पौडेलमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा कारबाही प्रक्रिया अगाडि बढाइएको छ। हाल उनलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



