
लमजुङ — तरुण दल लमजुङको जिल्ला अधिवेशनका क्रममा भएको विवादमा खुकुरी प्रहार गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति लमजुङको मध्यनेपाल नगरपालिका–६ निवासी ४२ वर्षीय किरण गुरुङ हुन्।
खुकुरी प्रहारबाट तरुण दल लमजुङका क्षेत्रीय सभापति तथा बेसीसहर–९ का वडाध्यक्ष खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएका छन्।

प्रहरीका अनुसार विवाद अधिवेशनमा प्रतिनिधि छनोटको प्रक्रिया र नेताहरू हटाउने निर्णयसँग जोडिएको थियो। संस्थापन पक्षका नेताहरूले केही व्यक्तिलाई पूर्णकालीन सदस्यबाट हटाएर प्रतिनिधि बन्नबाट रोक्ने प्रयास गरेको विरोधमा भेषबहादुर समूहका समर्थकहरूले आक्रोश पोखेका थिए। सोही क्रममा खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले किरण गुरुङलाई पक्राउ गरी लमजुङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। यस घटनामा संलग्न रहेका थप तीन जनाविरुद्ध पनि जाहेरी दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ।
लमजुङका प्रहरी प्रमुख डीएसपी रेशम बोहराका अनुसार किरण गुरुङसहित मध्यनेपालकै धनबहादुर तामाङ, राइनास नगरपालिकाका गणेश गुरुङ, र मस्र्याङ्दी गाउँपालिकाका भूपेश गुरुङविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी दर्ता गरिएको हो।
तरुण दल लमजुङको जिल्ला अधिवेशनमा प्रतिनिधि छनोट प्रक्रिया विवादास्पद बनेको थियो। विधानअनुसार वडा तहबाट चार जना, समावेशी कोटाबाट अलग प्रतिनिधि, र ३५ भन्दा बढी सदस्य भएका वडाबाट अतिरिक्त प्रतिनिधि पठाउने व्यवस्था छ। तर अधिकांश वडाबाट प्रतिनिधि छनोट नगरिएको र खाली फारममार्फत प्रतिनिधि पठाउने प्रयास भएको आरोपसँगै अधिवेशनमै विवाद चर्किएको थियो।
लमजुङमा ८ स्थानीय तह र ७२ वटा वडा रहेका छन्। विधानअनुसार झण्डै ५०० जना प्रतिनिधिको सहभागिता आवश्यक हुने अधिवेशनमा यस्तो झगडा र हिंसात्मक घटना हुनु तरुण दल र कांग्रेस दुबैका लागि चुनौती बनेको छ।



