
पर्सा – विशेष सूचनाको आधारमा पर्सा प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका अवैध औषधीसहित एक युवक र प्रयोग भएको पिकअप गाडी नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्ति बाराको जितपुर सिमरा उपमहानगरपालिका–५ निवासी २४ वर्षीय सुनिल कुमार राम रहेका छन्।

पर्सा जिल्ला अन्तर्गत विन्दवासिनी गाउँपालिका–४ स्थित मधवल सडकखण्डमा जेठ १२ गते दिउँसो करिब २:३० बजे प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.५ च २४८३ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीमा लोड गरिएका विभिन्न किसिमका औषधिहरूको कुनै पनि विधिवत बिलबिजक नदेखिएकोले ती औषधिहरू अवैध रूपमा ल्याइएको पुष्टि भएको थियो।
प्रहरीका अनुसार रामले ती औषधिहरू भारतबाट भन्सार छली गरी वीरगञ्जतर्फ ल्याइरहेका थिए। बरामद औषधिहरूको मूल्य करिब १२ लाख ७८ हजार ५२० रुपैयाँ आँकलन गरिएको छ। पक्राउ परेका व्यक्ति, प्रयोग गरिएको गाडी र औषधिहरू सोही दिन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए।
यसबीच, पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले औषधि जस्तो संवेदनशील वस्तुको अवैध कारोबारले जनस्वास्थ्यमा गम्भीर असर पार्ने भन्दै सीमावर्ती क्षेत्रमा निगरानी र गस्ती थप कडाइ गरिएको बताए। उनले यस्ता गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूलाई कडा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएका छन्।



