काठमाडौँ — केही दिनअघि नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा महँगो मदिरा र ड्राइफ्रुट चोरीको घटनाले सार्वजनिक ध्यान तानेको थियो। उक्त चोरीको आरोपमा मालिगाउँ प्रहरी वृत्तले दोलखाको बैतेश्वर गाउँपालिका–२ का ३७ वर्षीय बिमल श्रेष्ठलाई पक्राउ गरेको छ।

भाटभटेनीको ग्रोसरी विभागबाट वैशाख २० गते चोरी भएको शंका लागेपछि कर्मचारीहरूले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दा श्रेष्ठलाई भक्तपुरको बोडेबाट पक्राउ गरिएको हो। अनुसन्धानका क्रममा उनी पुराना र नामी चोर रहेको खुलेको छ।

श्रेष्ठ हाल भक्तपुरको बोडेमा आफ्नी कान्छी पत्नीका साथ बस्दै आएका थिए। उनी केही समयअघिसम्म नेपाल आयल निगममा करार सेवामा कार्यरत थिए र पछिल्लो समय निगमकै एक उच्च अधिकारीको निजी गाडी चलाउँथे। चोरी गर्नकै लागि उनले सोही गाडी प्रयोग गरेको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार श्रेष्ठले ब्लु लेबल, ग्लेण्डफिडिच, ज्याक डेनियललगायत करिब २ लाख १८ हजार रुपैयाँ बराबरको महँगो मदिरा र अन्य सामान चोरेका थिए। चोरी भएको भोलिपल्ट श्रेष्ठले काममा नजाने बहाना बनाउँदै गाडीधनीलाई दाँत दुखेको बताए पनि साँझ प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार श्रेष्ठको नाममा काठमाडौँ उपत्यका र बारामा ८ वटा चोरीसम्बन्धी मुद्दा दर्ता भइसकेका छन्। २०७५ सालमा बारामा दुईवटा मुद्दा, २०७६ र २०७९ मा विभिन्न प्रहरी कार्यालयहरूमा अनुसन्धान भएका थिए। उनीमाथि बहुविवाहसम्बन्धी मुद्दा समेत चलिरहेको छ।

पहिले पनि उनी भक्तपुरको भाटभटेनीमा चोरी प्रयास गर्दा समातिएका थिए तर सामान फिर्ता गरेपछि छाडिएको थियो। यसपटक चोरीमा प्रयोग गरिएको गाडी बरामद गरिएको छ भने उनले चोरेको ३० हजार रुपैयाँ बराबरको ब्लु लेबल मदिरा भने बाटोमै खाएर बोतल फ्यालेको बताएका छन्।

प्रहरीले हालसम्म श्रेष्ठबाट केही मदिरा, चोरीका बेला लगाएको कपडा र अन्य सामग्री बरामद गरेको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय