
नेपालमा साइबर अपराध तीव्र रूपमा वृद्धि हुनुका पछाडि विभिन्न कारणहरू छन्। आजको डिजिटल युगमा प्रविधिको विकाससँगै नेपालमा साइबर अपराधको घटनाहरू तीव्र रूपमा बढिरहेका छन्। सामाजिक सञ्जाल, अनलाइन कारोबार, बैंकिङ प्रणाली, सरकारी सेवा तथा व्यक्तिगत डाटाहरू डिजिटल माध्यमबाट सञ्चालित भइरहेकाले साइबर अपराधको दायरासमेत फराकिलो बन्दै गएको छ।
साइबर अपराध वृद्धि हुने प्रमुख कारणहरू—

१. डिजिटल साक्षरताको अभाव
नेपालमा अझै पनि धेरै प्रयोगकर्ताहरूलाई साइबर सुरक्षाका आधारभूत ज्ञान छैन। पासवर्ड सुरक्षाको महत्त्व, अनलाइन ठगीका तरिकाहरू, व्यक्तिगत जानकारी जोगाउने उपाय जस्ता विषयमा सचेतना नहुँदा साइबर अपराधीहरूलाई सजिलै अवसर मिल्छ।
२.इन्टरनेट पहुँचको विस्तार र प्रविधिको दुरुपयोग
नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको संख्या तीव्र रूपमा वृद्धि भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ९० प्रतिशतभन्दा बढी नेपालीले इन्टरनेट पहुँच पाइसकेका छन्। इन्टरनेटको पहुँच विस्तारले सकारात्मक प्रभाव पार्नुका साथै आपराधिक क्रियाकलापहरू बढ्ने सम्भावना पनि उतिकै बढेको छ।
३.कमजोर साइबर सुरक्षा संरचना
नेपालको साइबर सुरक्षा प्रणाली तुलनात्मक रूपमा कमजोर छ। सरकारी तथा बैंकिङ प्रणालीमा नियमित रूपमा सुरक्षा परीक्षण नहुँदा डेटा लिक हुने, वेबसाइट ह्याक हुने जस्ता समस्या आइरहेका छन्। निजी तथा सरकारी संस्थाहरूमा साइबर सुरक्षा नीति प्रभावकारी रूपमा लागू गर्न नसक्दा अपराधीहरूलाई सजिलो हुने गरेको छ।
४.सामाजिक सञ्जालको बढ्दो प्रयोग
फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटरजस्ता सामाजिक सञ्जालको अत्यधिक प्रयोगले व्यक्तिगत जानकारी सार्वजनिक हुने मात्र होइन, साइबर ठगी, ब्ल्याकमेलिङ, नक्कली प्रोफाइलद्वारा ठगी जस्ता अपराधहरू बढ्न थालेका छन्।
५.बैंकिङ तथा अनलाइन कारोबारको बृद्धि
नेपालमा डिजिटल भुक्तानी प्रणालीको लोकप्रियता बढेसँगै अनलाइन ठगीका घटनाहरू पनि बढ्न थालेका छन्। फेक लिंक पठाएर बैंकिङ विवरण चोरी गर्ने, अनलाइन कारोबारका क्रममा पैसा गायब हुने, QR कोड स्क्यान गरेर खाताबाट पैसा निकाल्ने जस्ता घटना दिनहुँजसो सुनिन्छ।
६.कानुनी व्यवस्थाको कमजोरी र कार्यान्वयनको अभाव
नेपालमा ‘इलेक्ट्रोनिक ट्रान्ज्याक्सन ऐन २०६३’ र केही साइबर सुरक्षासम्बन्धी कानुनी प्रावधानहरू भए पनि ती पर्याप्त छैनन्। अनुसन्धान तथा कार्यान्वयन प्रक्रियामा ढिलाइ हुने, दोषी पहिचान गर्न प्रविधि अभाव हुने तथा सजाय कमजोर हुने जस्ता कारणले अपराधीहरू हौसिने गरेका छन्।

अन्तमा – इन्टरनेटको दुरुपयोग, कमजोर कानुनी व्यवस्था, साइबर सुरक्षाको अभाव, डिजिटल साक्षरताको कमी तथा प्रविधिको अवैध प्रयोग प्रमुख कारणहरू हुन्। यस्ता अपराध नियन्त्रण गर्न सरकार, नागरिक तथा निजी क्षेत्रले संयुक्त रूपमा साइबर सुरक्षामा ध्यान दिन आवश्यक छ। कानुनी सुधार, प्रविधिको उच्चतम उपयोग, तथा डिजिटल साक्षरताको विस्तारमार्फत मात्र साइबर अपराधलाई नियन्त्रण गर्न सकिन्छ।



