
काठमाण्डौं—नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपमा आयोजित ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा १९ उत्कृष्ट महिला प्रहरी कर्मचारीहरूलाई सम्मान प्रदान गरिएको छ। देशभरबाट छनोट गरी सम्मान कदर-पत्र र दोसल्लाले सम्मानित गरिएका यी महिला कर्मचारीहरूले नेपाल प्रहरी संगठनमा कार्यरत रहँदै उच्च मनोबलका साथ जिम्मेवारीपूर्ण तवरले अपराध अनुसन्धान, शान्ति सुरक्षा, जनचेतना, र कार्यालयका अभिलेखीकरण जस्ता कार्यहरूमा योगदान पुर्याएका छन्।
उक्त सम्मान उनीहरूको व्यवसायिकता, कर्तव्यनिष्ठता, र संगठनको श्रीवृद्धिमा पुर्याएको योगदानको कदर स्वरूप प्रदान गरिएको हो।

कार्यक्रममा संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले “समानताको पुस्ता”, “अन्त गरौं हिंसा, विभेद र असमानता” भन्ने नारासाथ कार्यक्रमलाई सम्बोधन गर्दै महिला अधिकार र हकअधिकारको संरक्षणका लागि कार्यरत सम्पूर्ण महिलालाई सुख, शान्ति र समृद्धिको शुभकामना प्रकट गर्दै धन्यवाद व्यक्त गरेकी थिइन्।




