
काठमाडौं । हराएका सवारी साधन खोजी तथा फिर्ता गर्ने अभियानलाई प्रभावकारी बनाउँदै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उल्लेखनीय सफलता हासिल गरेको छ। विभिन्न मितिमा हराएका ५० वटा दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल तथा स्कुटर) खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो।
रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आइतबार आयोजित एक विशेष कार्यक्रमका बीच प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले २७ वटा मोटरसाइकल र २३ वटा स्कुटर सम्बन्धित सवारीधनीलाई औपचारिक रूपमा बुझाएका हुन्।

कार्यक्रममा एसएसपी अधिकारीले हराएका सवारी साधन खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्दै नागरिकको सम्पत्ति सुरक्षामा प्रहरी सदैव प्रतिबद्ध रहेको बताए। उनले सवारी चोरीका घटनालाई न्यूनीकरण गर्न विशेष निगरानी, सूचनाको प्रभावकारी प्रयोग तथा प्रविधिको सहायताबाट खोजी कार्यलाई तीव्र बनाइएको जानकारी दिए।
ट्राफिक प्रहरीले पछिल्लो समय हराएका सवारी साधनको खोजी अभियानलाई अभियानकै रूपमा सञ्चालन गर्दै आएको छ। यस क्रममा देशका विभिन्न स्थान तथा सीमावर्ती क्षेत्रसम्म समन्वय गरी हराएका सवारी साधनहरू पत्ता लगाइने गरिएको छ।
सवारी फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीप्रति आभार प्रकट गरेका थिए। उनीहरूले आफ्नो महत्वपूर्ण सम्पत्ति फिर्ता पाउनु ठूलो राहत भएको प्रतिक्रिया दिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी चोरी नियन्त्रण तथा खोजी कार्यलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।



