
काठमाडौँ — प्रहरी प्रधान कार्यालयमा कार्यरत एक प्रहरी जवान बलात्कारको आरोपमा पक्राउ परेका छन्।
सुरक्षा सेवा व्यवस्थापन महाशाखा, प्रहरी प्रधान कार्यालयमा कार्यरत जवान मानबहादुर विकलाई ललितपुरको हात्तीवनस्थित डेरामा एक युवतीलाई बलात्कार गरेको आरोपमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार जबरजस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ।
बाजुरा जिल्लाका स्थानीय विकले कालिकोट घर भएकी २६ वर्षीया विवाहित युवतीलाई बलात्कार गरेको आरोप लागेको छ। आरोपपश्चात विकले पीडित युवती आफ्नी पत्नी भएको भन्दै सामाजिक सञ्जालमार्फत भ्रामक पोस्टसमेत गरेका थिए।
प्रहरीका अनुसार पीडित महिला र आरोपी दुवै विवाहित हुन्। घटनासम्बन्धी थप अनुसन्धान जारी छ।



