
सुर्खेत, साउन ६ ।वीरेन्द्रनगर नगरपालिका–३ मा अवस्थित स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि र यसमार्फत आबद्ध ग्लोबल ओरियन्स नेपाल प्रा.लि ले विदेश रोजगारी, सीपमूलक तालिम, राम्रो तलब सुविधा र आवासको प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
पीडितहरूको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम इन्टरप्रेनर्स र ग्लोबल ओरियन्स नेपालमा आबद्ध व्यक्तिहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

देशका विभिन्न जिल्लाबाट आएका बेरोजगार युवायुवतीहरूलाई वार्षिक रु २० हजार बुझाएर खाना, आवास र कोठाको व्यवस्था गरिदिने भन्दै कम्पनीमा भर्ना गरिन्थ्यो। त्यसपछि उनीहरूलाई नेटवर्किङ मार्केटिङ मार्फत नयाँ सदस्य भित्र्याउन दबाब दिइन्थ्यो।
प्रत्येक नयाँ सदस्यबाट रु ५० हजारदेखि रु २ लाख ६० हजारसम्म असुली गरिने गरिएको पीडितहरूले बताएका छन्।
यसरी ठगी गर्दै कम्पनीहरूले करोडौं रुपैयाँ असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास र अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंह बुट थापाले जानकारी दिएका छन्।
पक्राउ पर्नेहरूमा:
- नरेश बोहरा (डोटी, सायल गा.पा–२)
- कृष्ण धामी (दार्चुला, महाकाली गा.पा–४)
- कमल शाही (अछाम, कमलबजार न.पा–६)
- रविन्द्र शाही (अछाम, कमलबजार न.पा–६)
- मनिषा सिंह (कञ्चनपुर, महाकाली न.पा–२)
- निर्मला धामी (कञ्चनपुर, बेल्डाँडी गा.पा–१)
- सुनिता साउद (बैतडी, सिगास गा.पा–६)
- कमला चिमाला (डोटी, बडिकेदार गा.पा–४)
पीडितहरूका अनुसार, ठगीमा संलग्न भनिएका व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाही गर्नुपर्ने माग गरिएको छ।
प्रहरीले यस प्रकरणमा थप अनुसन्धान भइरहेको जनाएको छ।



