
काठमाडौं — काठमाडौंको ताहाचलस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–११ घर भई हाल काठमाडौं महानगरपालिका–१३, ताहाचलमा बस्ने ३२ वर्षीय बिम्मा छिरिङ दोर्जे थिङ, काभ्रेको चौर देउराली गाउँपालिका–३ घर भई हाल चन्द्रागिरि नगरपालिका–३ गैरीगाउँमा बस्दै आएका ४५ वर्षीय सोमबहादुर तामाङ, शंखरापुर नगरपालिका–१ नाङ्लेभारेका ४३ वर्षीय वाङ दोर्जे लामा, चन्द्रागिरि नगरपालिका–१३ नैकापका ५० वर्षीय अमिरराज थापा, र नुवाकोट बेलकोटगढी नगरपालिका–५ घर भई हाल डल्लु बस्दै आएका ४२ वर्षीय परशुराम श्रेष्ठ रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार जुवा खेलिएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूकै साथबाट नगद १ लाख ३५ हजार ३ सय रुपैयाँ र २४ बुक तास बरामद गरेको जनाएको छ।
पक्राउ परेकाविरुद्ध आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन्।



