काठमाडौं — महाराजगन्जमा विभिन्न सरकारी र शैक्षिक संस्थाहरूको नक्कली प्रमाणपत्र तथा होलोग्राम उत्पादन हुने कारखाना फेला परेको छ।

काठमाडौं महानगरपालिका–१० निवासी ५२ वर्षीय सफराज खड्काले विगत दुई वर्षदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि), सीटीईभीटी, उच्च माध्यमिक शिक्षा परिषद् (एचएसइबी), राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) लगायतका संस्थाहरूको नक्कली होलोग्राम र प्रमाणपत्र उत्पादन गर्दै आएको खुलासा भएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्राप्त सूचनाका आधारमा असार ३१ गते खड्कालाई महाराजगन्जबाट पक्राउ गरेको हो। अनुसन्धानका क्रममा उनले नक्कली होलोग्राम मात्र नभई विभिन्न शैक्षिक प्रमाणपत्रहरू समेत बनाउने कारखाना सञ्चालन गर्दै आएको पुष्टि भएको सीआईबीले जनाएको छ।

सीआईबीका प्रवक्ता एसपी युवराज खड्काका अनुसार उक्त कारखानामा देशभरका जुनसुकै संस्थाको नक्कली प्रमाणपत्र, छाप, लेटरप्याड र बैंक स्टेटमेन्ट समेत उत्पादन हुने गरेको भेटिएको छ। उनले भने, “उक्त कारखानाबाट सरकारी निकायदेखि बैंक तथा राजनीतिक दलसम्मका नक्कली छापहरू बरामद भएका छन्।”

प्रहरीका अनुसार खड्काले मालपोत, नापी, नगरपालिका, वडा कार्यालय, प्रहरी कार्यालय, कर कार्यालय, काठमाडौं जिल्ला अदालत लगायतका कार्यालयहरूको नक्कली छापहरू पनि तयार पार्दै आएका थिए।

सफराज खड्काविरुद्ध थप अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थप गरिएको छ। प्रहरीले अहिले उक्त कारखानाबाट बरामद सामग्रीको विवरण संकलन गर्दै थप संलग्न व्यक्तिहरुको खोजी तीव्र पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय