धनगढी । कैलालीमा योजनाबद्ध रूपमा श्रीमान्को हत्या गरी शव नदीमा बगाइएको घटनाको सफल अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी जवान सुवास पुजारा भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जानकी गाउँपालिका–९, अमरावतीमा भएको उक्त घटनाको अनुसन्धानमा पुजाराले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उनलाई प्रदेशकै उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो।

प्रहरीका अनुसार उक्त घटना योजनाबद्ध रूपमा भएको थियो। घटनापछि शव लुकाउने उद्देश्यले नदीमा बगाइएको विषयसमेत अनुसन्धानका क्रममा खुलेको थियो। घटनाको वास्तविकता पत्ता लगाउँदै संलग्न व्यक्तिसम्म पुग्न प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा तथ्य तथा प्रमाण संकलन, घटनाको वस्तुस्थिति विश्लेषण र संलग्न व्यक्तिहरूको पहिचानमा प्रहरी जवान पुजाराले उल्लेखनीय भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उत्कृष्ट प्रहरी घोषणा गरिएका पुजारालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईले प्रशंसापत्रसहित सम्मान गरेका छन्।

सम्मान गर्दै डीआईजी भट्टराईले अपराध अनुसन्धानमा प्रहरी कर्मचारीको व्यावसायिकता, लगनशीलता, धैर्य र तथ्य–प्रमाणमा आधारित अनुसन्धान महत्वपूर्ण हुने बताएका छन्। जटिल प्रकृतिका घटनाको अनुसन्धानमा देखाएको सक्रियता र जिम्मेवारीप्रतिको प्रतिबद्धताको कदरस्वरूप पुजारालाई उत्कृष्ट प्रहरी छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी संगठनमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालयले प्रत्येक महिना उत्कृष्ट प्रहरी छनोट गर्दै आएको छ। यस्तो सम्मानले अनुसन्धान तथा प्रहरी सेवामा कार्यरत अन्य कर्मचारीलाई समेत थप जिम्मेवार, व्यावसायिक र परिणाममुखी ढंगले काम गर्न प्रेरित गर्ने प्रहरी अधिकारीहरूको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय