
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बर्दियाले प्रहरी चौकी महम्मदपुरका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) जनकबहादुर बुढालाई २०८३ साल असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ (उत्कृष्ट प्रहरी) घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार वरिष्ठ सई बुढाले विभागीय मूल्य, मान्यता तथा संगठनको आदेश–निर्देशनको पूर्ण पालना गर्दै उच्च व्यावसायिकता, इमानदारी र लगनशीलताका साथ जिम्मेवारी निर्वाह गरेकाले उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

२०८२ साल चैत १५ गतेदेखि प्रहरी चौकी महम्मदपुरको इन्चार्जका रूपमा कार्यरत बुढाले भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइने विभिन्न मालसामान नियन्त्रण गर्न उल्लेखनीय सफलता हासिल गरेका छन्। साथै, लागूऔषध ब्राउन सुगर बरामद गरी ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन पनि उनले प्रभावकारी भूमिका खेलेका छन्।
त्यसैगरी, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा समेत प्रभावकारी कार्यसम्पादन गरेको मूल्यांकन गर्दै संगठनात्मक नीति तथा कार्यसम्पादनका आधारमा वरिष्ठ सई बुढालाई असार महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।




