
शालिक भट्ट / काठमाडौं । नेपालको पुरानो तथा प्रमुख सरकारी अस्पतालमध्ये एक विर अस्पताल मा नर्स अभाव गम्भीर समस्याका रूपमा देखिएको छ। विशेषगरी इमर्जेन्सी वार्डमा डाक्टर उपलब्ध भए पनि नर्स भेट्न कठिन हुने गरेको छ।
बिरामीलाई औषधि दिने, निगरानी गर्ने लगायतका महत्वपूर्ण जिम्मेवारी नर्सको हुने भए पनि पर्याप्त जनशक्ति अभावका कारण आकस्मिक कक्षामा पुगेका बिरामीले समयमै उपचार पाउन सकेका छैनन्।

नाम नबताउने सर्तमा एक नर्सले रातिको ड्युटीमा निकै कम (१–२ जना) मात्र नर्स रहने गरेको बताइन्।
“रातिको ड्युटीमा थोरै नर्स हुँदा सबै बिरामीलाई समयमै सेवा दिन सकिँदैन। चाहेर पनि सबैलाई हेर्न असम्भव भइरहेको छ,” उनले भनिन्।
उनका अनुसार अस्पताल व्यवस्थापन वा सरकारी स्तरबाट पर्याप्त जनशक्ति नखटाइँदा समस्या झन् गम्भीर बनेको छ।
“अस्पतालले नखटाएको हो कि सरकारले नै जनशक्ति कम दिएको हो, स्पष्ट छैन। तर इमर्जेन्सीमा चाहिने जति नर्स छैनन्,” उनले थपिन्।
यो समस्या नर्स मात्र होइन, डाक्टरहरूले पनि स्वीकार गरेका छन्। नाम नबताउने सर्तमा एक डाक्टरले भने:
“हामीले पटक–पटक व्यवस्थापनलाई जानकारी गराएका छौं, तर अहिलेसम्म समाधान हुन सकेको छैन।”
यद्यपि, सम्बन्धित चिकित्सकहरू खुला रूपमा सञ्चारमाध्यममा बोल्न भने हिच्किचाउने गरेका छन्।
देशभरबाट बिरामी आउने यस अस्पतालको इमर्जेन्सी वार्डमा निरन्तर निगरानी आवश्यक पर्छ। तर त्यहीँ नर्स अभाव हुँदा बिरामीले समयमा औषधि र सेवा नपाउने अवस्था सिर्जना भएको छ।
एक कुरुवाले गुनासो गर्दै भने:
“औषधि दिनुपर्यो भनेर एक घण्टा भयो, नर्स भेटिँदैन। डाक्टरलाई भन्यो भने नर्सलाई भन्नू भन्छन्, तर नर्स नै छैनन्।”
नर्स अभावका कारण बिरामी र कुरुवाहरू दुवै समस्यामा परेका छन्। गम्भीर अवस्थामा ल्याइएका बिरामीले समेत समयमा उपचार नपाउँदा ज्यानै जोखिममा पर्ने अवस्था देखिएको छ।



