काठमाडौं, ५ असोज । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रिय प्रहरी समन्वय तथा समीक्षा बैठक–२०८३ सम्पन्न भएको छ।

नेपाल प्रहरीको रणनीतिक योजना २०८३–२०८५ मा परिकल्पना गरिएको ‘Smart Policing, Safer Community’ को मूल भावनालाई व्यवहारमा उतार्ने उद्देश्यले समीक्षा बैठक आयोजना गरिएको हो।

बैठकमा काठमाडौं उपत्यका तथा सातवटै प्रदेश प्रहरी कार्यालयबाट भएका प्रहरी प्रशासन, प्रहरी कार्य सञ्चालन, अपराध अनुसन्धान तथा मानवस्रोत व्यवस्थापनसम्बन्धी कार्यहरूको समीक्षा गरिएको थियो। साथै प्रभावकारी प्रहरी सेवा प्रवाह, प्राप्त उपलब्धि, विद्यमान चुनौती तथा भावी रणनीतिका विषयमा गहन छलफल, अन्तरक्रिया तथा अनुभव आदानप्रदान गरिएको नेपाल प्रहरीले जनाएको छ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले मुलुक प्राकृतिक विपद्जन्य परिस्थितिबाट गुज्रिरहेको संवेदनशील समयमा बाढीपहिरो तथा विपद् उद्धारका क्रममा कर्तव्य निर्वाह गर्दा ज्यान गुमाएका नेपाल प्रहरीका वीर अमर प्रहरीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले अमर प्रहरीहरूले गरेको बलिदान, त्याग र साहस सम्पूर्ण प्रहरी कर्मचारीका लागि कार्यक्षेत्रमा प्रेरणाको स्रोत बनिरहने बताउनुभयो।

प्रहरी महानिरीक्षक कार्कीले बैठकमा उठेका विषयलाई छलफलमा मात्र सीमित नराखी प्राप्त उपलब्धिलाई संस्थागत गर्न, देखिएका कमी–कमजोरी सुधार गर्न तथा आगामी कार्यदिशा तय गर्नुपर्नेमा जोड दिनुभयो। केन्द्र र प्रदेशबीच एकरूपता कायम गर्दै वर्तमान सुरक्षा परिवेश र आगामी प्राथमिकताबीच स्पष्ट सम्बन्ध स्थापित गर्न समीक्षा बैठकलाई प्रभावकारी मञ्चका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले अपराधको प्रवृत्ति पहिचान गरी जोखिममा आधारित प्रहरी परिचालन, प्रमाणमुखी तथा वैज्ञानिक अनुसन्धान, प्रविधिको रणनीतिक उपयोग, योग्यता र कार्यसम्पादनमा आधारित मानवस्रोत व्यवस्थापन, सुशासन, अनुशासन तथा आन्तरिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।

त्यस्तै नागरिकसँगको विश्वास र साझेदारीलाई सुदृढ गर्दै आफ्नो जिम्मेवारी क्षेत्रको सामाजिक, धार्मिक, राजनीतिक तथा आर्थिक परिवेशको मूल्याङ्कन गरी भरपर्दो सूचना संकलनमार्फत एकीकृत सुरक्षा योजना बनाउन उहाँले प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका विषयमा अझ संवेदनशील भएर कार्य गर्नसमेत उहाँले आग्रह गर्नुभयो।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले प्रहरी कार्य, अपराध अनुसन्धान, प्रहरी प्रशासन, मानवस्रोत व्यवस्थापन, वर्तमान सुरक्षा चुनौती तथा समाधानका उपाय, नेपाल प्रहरी रणनीतिक योजना कार्यान्वयनको अवस्था र भावी योजनालगायतका विषयमा प्रस्तुतीकरण गरेका थिए।

प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टले आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन करारको वार्षिक प्रगतिको समीक्षा गर्दै कार्यसम्पादन सम्झौता कार्यान्वयनका क्रममा देखिएका समस्या, चुनौती तथा सुधारका क्षेत्रका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो।

कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले बैठकसम्बन्धी संक्षिप्त जानकारी गराउनुभएको थियो।

बैठकमा अपराध अनुसन्धानमा प्रविधिको प्रयोग, प्रहरी जनशक्तिको उचित व्यवस्थापन तथा क्षमता अभिवृद्धि, वैज्ञानिक एवं प्रभावकारी अनुसन्धान, वर्तमान सुरक्षा चुनौती र त्यसको सामना गर्न अपनाइएका उपाय तथा विपद् व्यवस्थापनका विषयमा छलफल भएको थियो।

त्यस्तै विगतका अनुभव तथा असल अभ्यासको आदानप्रदानमार्फत प्रहरी सेवामा सुधार गर्ने र समग्र संगठनात्मक सुधारका विषयमा समेत विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक तथा नेपाल प्रहरीका अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय