
सिरहा । सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्ति तथा समुदायलाई लक्षित गरी आपत्तिजनक, भ्रामक तथा प्रमाणहीन सामग्री प्रसारण गरेको आरोपमा सिरहाका एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का मनोजकुमार महतो ‘मनोज मानव’ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार महतोले विभिन्न व्यक्ति, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, राजनीतिक नेता तथा राष्ट्रसेवक कर्मचारीलगायतलाई लक्षित गरी अश्लील, अशिष्ट, धम्कीपूर्ण तथा तथ्यहीन सामग्री सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेको आरोप छ। यस्ता गतिविधिबाट सम्बन्धित व्यक्तिको चरित्रमा आँच पुर्याउनुका साथै सामाजिक सद्भाव र शान्तिमा असर पार्ने प्रयास गरेको प्रहरीको दाबी छ।
महतोविरुद्ध साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्न नहुनेसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट पक्राउ पुर्जी जारी भएको थियो।
पक्राउ पुर्जीका आधारमा खोजतलास गर्ने क्रममा उनी उदयपुरको चतरा पुलपारि एक होटलमा लुकिछिपी बसेको अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय उदयपुरको सहयोगमा महतोलाई २०८३ असोज ४ गते पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।
पक्राउ परेका महतोमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको तथा अनुसन्धानबाट खुलेका तथ्यका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।




