
रूपन्देही । अदालतबाट दोषी ठहर भएर लामो समयदेखि फरार रहेका प्रतिवादीको खोजीमा रूपन्देही प्रहरीले सक्रियता बढाएको छ। प्रहरीले भदौ महिनामा मात्रै ८३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका प्रतिवादीबाट अदालतले तोकेको सजाय कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउनुका साथै १ करोड ३५ लाख ४० हजार ६ सय रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दका अनुसार अदालतको फैसला कार्यान्वयनलाई नियमित प्रहरी कार्ययोजनाअन्तर्गत राखेर फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियान अघि बढाइएको हो।
फैसला कार्यान्वयनसँगै रूपन्देही प्रहरीले ठगी तथा सङ्गठित अपराधका घटनामा फरार रहेका व्यक्तिमाथि समेत निगरानी बढाएको जनाएको छ।
यसै क्रममा ठगी तथा सङ्गठित अपराधको कसुरमा फरार रहेकी मर्चवारीमाई गाउँपालिका–३, रायपुरकी २४ वर्षीया उर्मिला बरईलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकी बरईलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत रूपन्देहीमा पेस गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरईसहितको समूहले सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी १ करोड ५० लाख २२ हजार ५२० रुपैयाँ ठगी गरेको आरोप छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको र अनुसन्धान जारी रहेको डीएसपी चन्दले जानकारी दिए।
प्रहरीका अनुसार फरार प्रतिवादी पक्राउसँगै अदालतबाट तोकिएको कैद तथा जरिवाना कार्यान्वयन गराउनु न्यायिक प्रक्रियाको महत्वपूर्ण पक्ष हो। त्यसैले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइनेछ।
रूपन्देही प्रहरीले फैसला कार्यान्वयनका साथै ठगी, सङ्गठित अपराधलगायतका आपराधिक गतिविधि नियन्त्रणमा समेत निगरानी र अनुसन्धानलाई निरन्तरता दिएको जनाएको छ।




