
बारा । बाराको जितपुर सिमरामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य आरोपीसहित ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार साँझ करिब ५ः३० बजे जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित सम्झना स्टाफ होटलमा सोही स्थानका ३५ वर्षीय शेरबहादुर खड्कामाथि चक्कु प्रहार भएको थियो।

प्रहरीका अनुसार जितपुर सिमरा–१६ का २२ वर्षीय आयुष राईले चक्कु प्रहार गर्दा खड्काको घाँटीमा चोट लागेको थियो। घाइते खड्कालाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएकोमा उपचारकै क्रममा साँझ ६ः४० बजे मृत्यु भएको हो।
घटना लगत्तै फरार भएका राईलाई प्रहरीले राति करिब १० बजे जितपुर सिमरा–१६, महेन्द्रनगरस्थित धानबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले अन्य पाँच जनालाई समेत पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका–१ घर भई जितपुर सिमरा–२ बस्ने ३४ वर्षीया बिन्दु तामाङ, जितपुर सिमरा–२ का ३० वर्षीय रामबहादुर तिमिल्सिना, २३ वर्षीय रत्न पाख्रिन तामाङ, जितपुर सिमरा–१६ की ४३ वर्षीया शान्ति राई र ४० वर्षीया सीता थापा मगर रहेका छन्।
प्रहरीले उनीहरूमाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट पाँच दिनको म्याद थप गरेको जनाएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालय सिमराले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।




