
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले भदौ महिनामा विभिन्न अपराधसँग सम्बन्धित १७९ वटा मुद्दा दर्ता गरेको छ। तीमध्ये ५७ वटा मुद्दा फछ्र्योट भएको परिसरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सूर्यबहादुर खड्काले जानकारी दिएका छन्।
प्रहरीका अनुसार भदौ महिनामा जघन्य अपराधतर्फ हत्या, जबर्जस्ती करणी, लागुऔषध तथा हातहतियारसम्बन्धी गरी १० वटा मुद्दा दर्ता भएका छन्। यस्तै, आर्थिक अपराधतर्फ ९६ वटा मुद्दा दर्ता भएकामा बैंकिङ कसुरका ७७ र ठगीका १९ वटा रहेका छन्।

अदालतबाट सजाय तथा जरिवाना तोकिएपछि फरार रहेका ६५ जना प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट ४४ वर्ष ६ महिना ३ दिन कैद सजाय कार्यान्वयनका लागि पठाइएको छ भने १ करोड २२ लाख १९ हजार ५७० रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, भदौमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ९ वटा मुद्दा दर्ता भएका छन् भने घरेलु हिंसासम्बन्धी १३ वटा उजुरी परेको प्रहरीले जनाएको छ।
सवारी दुर्घटनातर्फ भदौ महिनामा २३ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन्।
सवारी नियम उल्लंघन गर्ने २ हजार ९४७ वटा सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। कारबाहीबाट १३ लाख ९२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।
यसैबीच, भक्तपुरको सृजनानगरबाट प्रहरीले १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोली समेत बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भक्तपुर प्रहरीले अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ, सवारी अनुशासन तथा गैरकानुनी गतिविधिमाथि निगरानी बढाउँदै कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।




