
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११ पिपिरास्थित उमापती गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार घरभित्र जुवातास खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद १ लाख ९७ हजार २ सय २० रुपैयाँ र १८ गड्डी तास बरामद गरेको जनाएको छ।

पक्राउ परेका ७ जनालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ।
पछिल्लो समय सुर्खेत प्रहरीले जिल्लामा शान्ति–सुरक्षा कायम गर्ने तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने अभियानलाई थप सक्रिय बनाएको देखिन्छ। विशेषगरी जुवातास नियन्त्रण, लागुऔषध नियन्त्रण, चोरी–तस्करी नियन्त्रण तथा अन्य गैरकानुनी गतिविधिमाथि निगरानी र कारबाहीलाई प्रहरीले तीव्रता दिएको छ।
प्रहरीले सूचना संकलन, नियमित निगरानी र आवश्यकताअनुसार प्रहरी परिचालनमार्फत जिल्लामा हुने आपराधिक तथा सामाजिक विकृतिजन्य गतिविधि नियन्त्रणमा जोड दिएको जनाएको छ। पछिल्लो जुवातास नियन्त्रणको घटना पनि यस्ता गतिविधिमाथि प्रहरीले बढाएको निगरानी र कारबाहीकै निरन्तरता भएको देखिन्छ।




