
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटबाट सशस्त्र प्रहरीले ८० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्ट्स तथा विद्युतीय सामग्री बरामद गरेको छ।
बर्दघाट नगरपालिका–४ स्थित झाडीमा अवैध रूपमा लुकाइराखिएको अवस्थामा गएराति करिब ११ः५५ बजे उक्त सामान बरामद गरिएको हो।

अवैध सामान लुकाएर राखिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट सशस्त्र प्रहरी निरीक्षक जगनाथ पौडेलको कमान्डमा टोली खटिएको थियो। खोजतलासका क्रममा करिब ८० लाख ३० हजार रुपैयाँ बराबरका मोबाइल ब्याट्री, टेम्पर्ड ग्लास, एयरबड, स्मार्टवाच, स्पिकरलगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।




