
रौतहट । जिम्मेवारीप्रतिको इमानदारी, अनुशासन र कार्यसम्पादनमा उत्कृष्टता देखाएको भन्दै प्रहरी जवान हरिकिशोर प्रसाद कुर्मी रौतहटमा भदौ महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
इलाका प्रहरी कार्यालय बलरा, सर्लाही दरबन्दी भए पनि हाल जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत कुर्मीलाई उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कनका आधारमा महिनाकै उत्कृष्ट प्रहरी छनोट गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले कुर्मीलाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै उत्कृष्ट कार्यको सम्मानले प्रहरी कर्मचारीलाई थप जिम्मेवार र उत्साहित बनाउने बताए।
एसपी रिजालले प्रहरी सेवामा कर्तव्यनिष्ठा, अनुशासन र इमानदारीलाई प्राथमिकतामा राखेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए। उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन गर्ने अभ्यासले संगठनको कार्यक्षमता र सेवाप्रवाह थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।
प्रहरी कर्मचारीको योगदानको मूल्याङ्कन गर्दै उत्कृष्टलाई सम्मान गर्ने जिल्ला प्रहरी कार्यालयको अभ्यासले संगठनभित्र सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
‘बेस्ट पुलिस अफ द मन्थ’बाट सम्मानित कुर्मीलाई सहकर्मी तथा जिल्लावासीले बधाई दिँदै आगामी जिम्मेवारीका लागि शुभकामना दिएका छन्।




