
रुपन्देही । नक्कली ब्लुबुक तयार गरी चोरीका मोटरसाइकल खरिद–बिक्री गर्ने गरेको आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पेस्तोल र गोलीसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सियारी गाउँपालिका–२ का करिब ४४ वर्षीय अजय चौधरी रहेका छन्।

प्रहरीका अनुसार चौधरीले नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। सोही क्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका–७, विद्यापथबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले चेकजाँच गर्ने क्रममा चौधरीको साथबाट टाइप–५४ पेस्तोलजस्तो देखिने एक थान पेस्तोल र त्यसमा लोड गरिएको ४ राउन्ड गोली बरामद गरेको जनाएको छ।
त्यसैगरी, एउटै फोटो भएका दुई थान ब्लुबुक र चार थान भारतीय आधार कार्डसमेत फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चौधरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको छ। घटनामा उनको संलग्नता तथा बरामद भएका सामग्रीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




