
काठमाडौं । त्रिपुरेश्वरमा सोमबार भएको सवारी आगजनीको घटनामा मृत्यु भएका व्यक्ति अर्जुन दोङ तामाङ रहेको पुष्टि भएको छ। ट्राफिक प्रहरीसँगको विवादपछि आफूले चलाउँदै आएको बसमा आगजनी गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानबाट तामाङ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–सिस्नेरीका बासिन्दा रहेको खुलेको छ। उनका बाबु श्यामबहादुर दोङ तामाङ र आमा बिनु तामाङ रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले अर्जुन यसअघि पनि विभिन्न घटनामा संलग्न रहेको र ती क्रममा अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा सवारीचालक अनुमतिपत्र प्रयोग गरेको देखाएको छ।
प्रहरीका अनुसार २०८२ साल कात्तिकमा बालाजुमा बस दुर्घटना हुँदा तीन जना घाइते भएको घटनामा पनि अर्जुन संलग्न रहेको खुलेको छ। उक्त घटनापछि उनी फरार रहेको र त्यस क्रममा सुनील तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
त्यस्तै, करिब तीन महिनाअघि मलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा पनि उनले दाबा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको प्रहरीको भनाइ छ।
त्रिपुरेश्वरको पछिल्लो घटनामा भने उनले दाबा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ। घटनास्थलबाट उक्त अनुमतिपत्र फेला परेपछि प्रहरीले प्रारम्भमा उनलाई दाबा लामा भएको जानकारी सञ्चारमाध्यमलाई दिएको थियो।
थप अनुसन्धानका क्रममा अर्जुनले दाबा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरेको तथ्य फेला परेको एसएसपी घिमिरेले बताएका छन्।
अन्य व्यक्तिका नाममा जारी भएका परिचयपत्र, सवारीचालक अनुमतिपत्र तथा सरकारी कागजात प्रयोग गरेको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।




