
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटालाई २०८३ साल भाद्र महिनाको ‘उत्कृष्ट प्रहरी’ (Best Police of the Month) घोषित गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार प्रहरी निरीक्षक सापकोटाले अपराध अनुसन्धान शाखाको प्रमुखका रूपमा कार्यरत रहँदा विभिन्न घटनाको सफल अनुसन्धान तथा महत्वपूर्ण आपराधिक घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।

उनकै नेतृत्वमा २०७९ मंसिर १८ गते भरतपुर महानगरपालिका–१७, गाँजीपुरस्थित नारायणी नदी किनारमा भेटिएको मानव कंकालसम्बन्धी घटनाको अनुसन्धान अघि बढाइएको थियो। DNA परीक्षणमार्फत मृतकको पहिचान गरी घटनामा संलग्न प्रतिवादीहरूलाई २०८३ साउन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी कानुनी दायरामा ल्याउन उनी सफल भएका थिए।
त्यस्तै, २०८३ भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि नारायणी तथा त्रिशूली नदीमा बाढीले बगाएर ल्याएका शवहरूको खोजी, उद्धार तथा व्यवस्थापनमा समेत निरीक्षक सापकोटा सक्रिय रूपमा खटिएका थिए। उनले शवको पहिचान, आफन्तलाई हस्तान्तरण, आवश्यक कानुनी प्रक्रिया तथा DNA नमुना संकलनलगायतका कार्यमा सम्बन्धित निकायसँग समन्वय गरी भूमिका निर्वाह गरेका थिए।
बाढीमा मृत्यु भएका व्यक्तिका शवबाट सुन तथा चाँदीका बहुमूल्य गहना चोरी गरी अमानवीय व्यवहार गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनसमेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको कार्यालयले जनाएको छ।
संगठनको नीति, निर्देशन र जिम्मेवारीलाई वफादारी, लगनशीलता तथा अनुशासनपूर्वक निर्वाह गर्दै प्रशंसनीय एवं उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा ‘उत्कृष्ट प्रहरी छनौट कार्यविधि, २०७९’ बमोजिम सापकोटालाई भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले २०८३ असोज ४ गते उनलाई उक्त सम्मान प्रदान गरेका हुन्।




