
’बुटवल, ५ असोज । रुपन्देहीमा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै प्रहरी निरीक्षक प्रतिमा कार्कीलाई २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ (Best Traffic Police of the Month) घोषणा गरिएको छ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका कार्यालय प्रमुख प्रहरी उपरीक्षक निशान थापाले कार्कीलाई उत्कृष्ट प्रदेश ट्राफिक प्रहरी छनोट भएको प्रमाणपत्र प्रदान गरेका हुन्।

कार्कीले रुपन्देही जिल्लामा सवारी दुर्घटनाको तथ्याङ्क विश्लेषण गरी ७ वटा उच्च दुर्घटना जोखिम क्षेत्र (Accident Prone Area) पहिचान गरेकी थिइन्। ती स्थानमा दुर्घटना जोखिमसम्बन्धी चेतावनी संकेत बोर्ड (Retro-Reflective Sign Board) समेत जडान गरिएको प्रमाणपत्रमा उल्लेख छ।
त्यस्तै, स्थानीय तहसँग समन्वय गरी कार्यालयअगाडि रहेको सार्वजनिक जग्गाको उपयोग अधिकार प्राप्त गरेर व्यवस्थित तथा सुरक्षित पार्किङ स्थल निर्माणमा समेत उनले पहल गरेकी थिइन्।
विभिन्न समयमा बेवारिसे अवस्थामा फेला परेका एक चारपाङ्ग्रे सवारीसाधनसहित १२ वटा सवारीसाधन नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीसँगको समन्वयमा भैरहवा भन्सार कार्यालयमा बुझाउने कार्यसमेत गरिएको जनाइएको छ।
बुटवल–भैरहवा सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरणका लागि सडक डिभिजन कार्यालयसँग समन्वय गरी दुई वटा उच्च दुर्घटना जोखिम क्षेत्रमा स्पिड ब्रेकर/रम्बल स्ट्रिप, सडक चिन्ह तथा रोड मार्किङ, जेब्रा क्रसिङ र पैदलयात्री मार्ग निर्माण, मर्मत तथा पुनःस्थापना गरिएको प्रमाणपत्रमा उल्लेख छ।
यसका साथै विभिन्न स्थानमा सडक सचेतनामूलक संकेत बोर्डहरू स्थापना गरिएको थियो।
कार्कीको नेतृत्व तथा पहलमा क्षमता भन्दा बढी भार बोकेका १ हजार ९ सय ९८ वटा सवारीसाधनलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको जनाइएको छ।
त्यस्तै, स्थानीय तहहरूसँग समन्वय गरी TVRS प्रणाली सञ्चालनका लागि आवश्यक कम्प्युटर, प्रिन्टरलगायतका उपकरण प्राप्त गरी मातहतका पाँचवटा ट्राफिक प्रहरी पोस्टबाट TVRS सेवा विस्तार गरिएको उल्लेख छ।
यी कार्यहरूको उच्च मूल्याङ्कन गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले प्रहरी निरीक्षक कार्कीलाई भदौ महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरेको हो।
कार्की हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक हुन्। उनलाई उत्कृष्ट प्रदेश ट्राफिक प्रहरी छनोट भएकोमा कार्यालयले बधाईसमेत दिएको छ।




