४ भदौ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा विद्यालयबाट घर फर्कने क्रममा चार बालिका वासुदेव खहरेको अचानक आएको भेलमा बगेका छन्। घटनामा दुई बालिकाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। एक बालिका भने झाडी समातेर ज्यान जोगाउन सफल भएकी छन्।

 

मंगलबार साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्किरहेका १३ वर्षीया सीमा भोलन, ११ वर्षीया सुमित्रा भोलन, १२ वर्षीया विनिता भोलन र ८ वर्षीया रोशनी स्याङ्तान खोला तर्ने क्रममा भेलमा परेका थिए।

 

घटनामा रोशनीलाई भेलले बगाएको केही समयपछि करिब ६ सय मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला पारिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। विनिता भने घटनास्थलबाट करिब चार किलोमिटर तल बुधबार मृत अवस्थामा फेला परेकी हुन्।

 

भेलमा बगेकी सीमा खोलाकिनारको झाडी समातेर बाहिर निस्कन सफल भएकी थिइन्। सामान्य चोट लागेपछि उनको हेटौँडा अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।

 

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीले खोजी अभियान चलाएका थिए। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा २० जना प्रहरीसहित सशस्त्र प्रहरी र विपद् व्यवस्थापन टोलीसमेत परिचालन गरिएको थियो।

 

अँध्यारो, पानीको तीव्र बहाव तथा खोलाले बगाएर ल्याएको ढुङ्गा–गेग्रानका कारण मंगलबार राति खोजी कार्य कठिन भएको थियो। बुधबार बिहानदेखि पुनः खोजी तीव्र पारिएको थियो। बेपत्ता सुमित्राको खोजी भने जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

 

वर्षायाममा बढ्दो पानीजन्य जोखिम

मकवानपुरमा चालु आर्थिक वर्षमा खोला तथा पानीमा डुबेर मृत्यु भएको यो पहिलो घटना भने होइन। यसअघि हेटौँडा–६ स्थित कर्रा खोलाछेउको पानी जमेको खाल्डोमा डुबेर करिब १४ वर्षीय युकेश राईको मृत्यु भएको थियो।

 

त्यस्तै, बकैया गाउँपालिका–४ नयाँदमारस्थित चिरुवा खोल्सीमा आएको आकस्मिक भेलमा परी दुई महिला बगेका थिए। घाइते अवस्थामा उद्धार गरिएकी ४१ वर्षीया तारा भोलनको उपचारका क्रममा मृत्यु भएको थियो भने ५० वर्षीया सुनमाया वाइवा उपचारपछि घर फर्किएकी थिइन्।

 

प्रहरीका अनुसार चालु आर्थिक वर्षमा मकवानपुरमा खोला तथा पानीमा डुबेर मृत्यु हुनेको संख्या चार पुगेको छ। आर्थिक वर्ष २०८२/८३ मा डुबाइ तथा बगाइका ६ वटा घटना हुँदा चार जनाको मृत्यु, एक जना घाइते र एक जना बेपत्ता भएका थिए।

 

वर्षायाममा खोलाको बहाव अचानक बढ्न सक्ने भएकाले खोला, खहरे, खोल्सा तथा पानी जमेको स्थानमा विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय