काठमाडौँ । त्रिशूली नदीमा आएको भीषण बाढी र पहिरोले नदी करिडोर तथा आसपासका क्षेत्रमा ठूलो भौतिक क्षति पुर्‍याएको छ। सडक विभागका अनुसार बाढीका कारण कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ भने करिब ४० किलोमिटर सडकखण्ड पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएको छ।

बाढीले सडक तथा पुलमा क्षति पुर्‍याएपछि त्रिशूली करिडोर आसपासको यातायात आवागमनमा गम्भीर असर परेको छ। कतिपय स्थानमा सडक पूर्ण रूपमा बगाएको तथा सडकको आधार नै कमजोर बनेकाले नियमित यातायात सञ्चालनमा समस्या भएको विभागले जनाएको छ।

अवरुद्ध सडक खुलाउन तथा क्षतिग्रस्त संरचनाको तत्कालीन व्यवस्थापनका लागि सडक विभागले प्राविधिक टोलीसहित हेभी मेसिनरी उपकरण परिचालन गरेको छ। पहिरो पन्छाउने, सडक सफा गर्ने तथा सम्भव भएका स्थानमा अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउने काम भइरहेको विभागले जनाएको छ।

भौगोलिक कठिनाइसँगै प्रतिकूल मौसमका कारण उद्धार तथा सडक पुनः सञ्चालनको काम चुनौतीपूर्ण बनेको छ। कतिपय स्थानमा सडकको जग नै बग्नुका साथै पुलहरूमा समेत गम्भीर क्षति भएकाले यातायात सेवा तत्कालै पूर्ण रूपमा पूर्ववत् हुने अवस्था नरहेको विभागको भनाइ छ।

सडक विभागले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा यात्रा गर्नैपर्ने अवस्थामा सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय